समाचारबुधबार, बैशाख ३, २०७१
थपिएको जिन्दगी मेरोः ओली
भारतको नयाँ दिल्लीमा डेढ महिलान लामो उपचारपछि ३ बैशाखमा स्वदेश फर्किएका एमाले नेता केपी ओलीले आफ्नो जिन्दगी थपिएको बताएका छन् ।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले पार्टी र संसदीय दललाई सक्रिय तुल्याउने बताए ।
ओलीले भने, “मेरो जिन्दगी थपिएको छ, म मेरो निजी जीवनमात्र होइन, समाज परिवर्तन गर्न चिन्तित हुने मान्छे हुँ ।”
एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका दावेदार ओलीले पार्टीभित्र जस्तोसुकै वैचारिक बहस भए पनि नेतृत्व सर्वसम्मत चयन हुने बताए ।
उनले भने, “अहिले वैचारिक बहस जे भए पनि सहमतिमा नवौं महाधिवेशन टुंगिन्छ ।”
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै ओलीले एमाओवादीले भनेजस्तो जघन्य अपराधमा आममाफी हुन नसक्ने भन्दै थपे, “द्वन्द्वकालीन कतिपय मुद्दामा मेलमिलाप गर्न सकिन्छ, जघन्य अपराधमा कसैलाई माफी दिन सकिंदैन ।”
ओलीले संविधान निर्माणको कार्यतालिका प्रभावित नहुनेगरी स्थानीय निकायको चुनाव गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले कात्तिक वा मंसीरमा स्थानीय निकायको निर्वाचन गर्न सकिने बताए ।
उनको स्वागतमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेललगायतका नेताहरु र युवासंघका कार्यकर्ताहरु उपस्थित थिए ।
