समाचारशुक्रबार, बैशाख ५, २०७१
विदेशी मुद्रासहित चार भारतीय पक्राउ
५ वैशाख बिहान नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं जान लागेका चार भारतीयको साथ बाट प्रहरीले युरो एक लाख ७९ हजार ५००, अमेरिकी डलर २ हजार ९०० र थाई भाट ३३० बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक मधुप्रसाद पुडासैनीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारतको नयाँ दिल्लीका लाइकु अहमद (३०), मोरादाबादका लिसानुल हक (२१), बरेलीका गुड्डु (२४) र मोरादाबादका याकुब (३०) छन् ।
चारै जनाबाट बरामद बिदेशी मुद्रा नेपाली रुपैयाँमा बिनिमय गर्दा २ करोड ४३ लाख, ५९ हजार १७६ नेपाली रूपैयाँ पुग्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले दिल्लीमा मोटरपार्टसको व्यापार गर्दै आएको र त्यसैका लागि आवश्यक सामान लिने काठमाडौं हुँदै थाइल्याण्ड जान लागेको बयान प्रहरीलाई दिएका छन् ।
उनीहरूबाट प्रहरीले पासपोर्ट पनि बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू यसअघि पनि थाइल्याण्ड आउजाउ गरेको पाइएको र यही ११ अप्रिलमा थाइल्याण्डबाट दिल्ली गएको जानकारी पासपोर्टमा उल्लेख भएको एसएसपी पुडासैनीले बताए ।
कट्टुमा लुकाई ल्याएको उक्त रूपैयाँ उनीहरूले नेपालगञ्जको राँझा विमानस्थलभित्र चेकजाँच सकिएपछि शौचालयभित्र गएर निकाली झोलामा हालेका थिए ।
विशेष सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनले पक्राउ परेकाहरूलाई विदेशी मुद्रासहित राजश्व अनुसन्धान विभागमा पठाइने र विदेशी मुद्रा अपचलन कसुरमा कारबाही चलाउने जानकारी दिए ।
तुफान न्यौपाने, नेपालगञ्ज

