समाचारशुक्रबार, बैशाख ५, २०७१
सूचना आयोगका पूर्व प्रमुखकै सूचनाको हक हनन
ललितपुरस्थित आफ्नै निवासमा रहेका बेला वैशाख ५ गते मध्यान्ह साढे तीन बजे प्रहरीले पक्राउ गरेको कसजुले हिमालखबरलाई जानकारी दिए । उनले भने, ‘तीन जना प्रहरी आएर परिचय पत्र देखाएर मलाई हिंड्नुस भने । पक्राउ पुर्जी छ भन्दा उही गएर पाउनुहुन्छ भन्ने जवाफ दिए ।’
प्रहरीले ‘तँपाईलाई जसरी पनि लैजान्छौं’ भनेको कसजुले बताए । करिब एक घण्टापछि बाटोबाटै फर्काएर प्रहरीले घरमा ल्याएर छोडेको पनि उनले जानकारी दिए । कसजुको डेक्स्टप कम्प्युटरको सिपियु प्रहरीले लिएर गएका छन् ।
पक्राउको विषयमा आधिकारिक जानकारी नआएकाले आफ्नो सूचनाको हक हनन भएको कसजु बताउँछन् । उनी भन्छन्, ‘गल्ती गरेको छ भने जोकोही माथि अनुसन्धान हुनुपर्छ तर त्यसका लागि कानुनी प्रक्रिया त पुरा हुनु पर्यो नि ।’
कम्युनिकेसन एण्ड मिडिया रिसोर्सेस नामक वेभसाइटका कारण पक्राउ गरेको हुनसक्ने उनको अनुमान छ । ‘विना पुर्जी, कारण समेत नखुलाई पक्राउ गर्दा मानसिक तनाव झेल्नु परेको छ’, उनले भने ।
