समाचारशनिबार, बैशाख ६, २०७१
सुत्केरी व्यथाले छटपटिएकी महिलाको उद्दार
तीन दिनदेखि सुत्केरी व्यथाले छटपटिएकी गोरखाको दुर्गम सामा गाउँकी ४४ वर्षीय रसलछुकी लामालाई जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत गएको माउन्टेन एयरको हेलिकप्टरले उद्दार गरी राजधानीको थापाथलीस्थित प्रसुति गृहमा भर्ना गराएको छ ।
लामालाई ५ बैशाख २:३० बजे थापाथली प्रसूति गृहमा पुर्याई शल्यक्रिया गरिएको जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख विश्वराम श्रेष्ठले बताए ।
यसअघि आठ वटा सन्तानलाई जन्म दिइसकेकी लामाका ५ बैशाखमा जन्मिएको ३.४ किलोग्रामको बालकसहित तीन सन्तानमात्र जीवित छन् ।
महिलाको ज्यान जोगाउन प्रमुख जिल्ला अधिकारीसँग माग राख्दा आफूले केही गर्न नसक्ने बताएपछि जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा कार्यक्रमबाट खर्च व्यहोर्ने गरी हेलिकप्टर मगाएको हो ।
हेलिकप्टर खर्चबापतको रु १ लाख ४५ हजार जिल्ला स्वास्थ्य कार्यालय गोरखाले व्यहोर्ने श्रेष्ठले बताए ।
थापाथलीमा रहेका आमा छोराको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालका चिकित्सक शान्ति जोशीले जानकारी दिएकी छन् ।
