थप समाचारआइतबार, बैशाख ७, २०७१
गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु (अपडेट)
दरबारदेविस्थानबाट सदरमुकाम आउँदै गरेको लु १ ज २५२९ नम्बरको जीप ७ बैशाख बिहान दुर्घटना भएको हो । दुर्घटनामा एक बालकको घटनास्थलमै, तीन जनाको तम्घास अस्पताल र थप एक जनाको पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ९ वर्षीय दिवस सारु, गाडी धनी तथा चालक २८ वर्षीय महेन्द्र कुँवर, देविस्थानकी ५० वर्षीया जमुना खत्री, अर्घाखाँची बलकोटकी ४६ वर्षीया सानु मियाँ र ४० वर्षीया चन्द्रकला सिंजाली छन् ।
घाइतेहरुको पाल्पाको लुम्बिनी मेडिकल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शनका लागि हिडेको जीप दुर्घटना भएको हो । जीप सडकबाट ५० मिटर तल खसेको थियो ।
गगनशिला खड्का, गुल्मी
