थप समाचारआइतबार, बैशाख ७, २०७१
१३१ बाह्रसिङ्गा बढे
बच्चु विक, महेन्द्रनगर
शुक्लाफाँटा बन्यजन्तु आरक्षले यस वर्ष पनि बाह्रसिंङ्गाको संख्या बढेको जनाएको छ । १९ औं बन्यजन्तु सप्ताह–२०७१ को अवसरमा आरक्षले ७ बैशाखमा घोषणा गरेको यस वर्षको गणनाको परिणाम अनुसार १३१ बाह्रसिङ्गा बढेका छन् ।
सबैभन्दा ठूलो झुण्डमा बाह्रसिङ्गा देख्न पाइने शुक्लाफाँटामा १ हजार ३९० पोथी, ७७७ भाले र १३४ बच्चा सहित २ हजार ३०१ बाह्रसिङ्गा रहेको आरक्षले जनाएको छ । गत वर्षको गणनामा २ हजार १७० बाह्रसिङ्गा भेटिएका थिए ।
वासस्थानको उचित व्यवस्थापन, चोरीशिकारी नियन्त्रण र सिमसार व्यवस्थापन लगायतका कारणले बाह्रसिङ्गाको संख्या बढेको शुक्लाफाँटाका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । शुक्लाफाँटा, यूएसआईडी, हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भू–परिधि कार्यक्रमको सहयोगमा २९ चैत देखि ५ बैशाखसम्म बाह्रसिङ्गाको गणना गरिएको थियो ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषका २८ जना प्राविधकले ५ हात्ती र २ जीपको प्रयोग गरी ‘प्रत्यक्ष ब्लक गणना’ विधिबाट बाह्रसिङ्गाको गणना गरेका हुन् ।

