थप समाचारआइतबार, बैशाख ७, २०७१
रुकुममा ८ हजार बालबालिका विद्यालय बाहिर
जिल्ला शिक्षा कार्यालय रुकुमले अझै पनि विद्यालय उमेर समूहका ८ हजार १६२ बालबालिका विद्यालय पहुँच बाहिर रहेको जनाएको हो । विद्यालय उमेर समूहका ७३ हजार ३०८ मध्ये ६५ हजार १४३ बालबालिका मात्रै विद्यालयको पहुँचमा रहेको कार्यालयले जनाएको छ ।
यो संख्या ८७ दशमलव ५ प्रतिशत मात्र हो । जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेको शैक्षिक प्रतिवेदन अनुसार शैक्षिक र आर्थिक कारणले अझै पनि १२ दशमलव ५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।
रुकुमका ४३ गाविसमध्ये गोतामकोट गाविसमा सबैभन्दा बढी ५०७ जना बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन । यस्तै, स्यालाखदी, कोल, हुकाम लगायतका गाविसमा बढी बालकालिका विद्यालय बाहिर छन् ।
जनचेतनाको अभाव, विद्यालय टाढा हुनु एवम् आर्थिक अभावका कारण बालकालिका विद्यालय पहुँचभन्दा बाहिर रहेको कार्यालयका शाखा अधिकृत बिनाराम खड्काले बताए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियान चलाइएको उनले बताए ।
लक्ष्मण केसी, रुकुम

