थप समाचारसोमबार, बैशाख ८, २०७१
२५ करोडको मेशिन प्रयोगविहिन
पर्साको श्रीसियास्थित सुख्खा बन्दरगाहमा रेलबाट कन्टेनरमा आउने सामानहरुको भित्री जाँच पड्तालका लागि ल्याइएको इन्सपेक्सन मेशिन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । चीनले अनुदानमा दिएको यो मेशिन माघ २०६१ मा सुक्खा बन्दरगाहमा ल्याइएको थियो ।
मेशिनको तत्कालीन मूल्य रु. २२ करोड परे पनि हाल यसको मूल्य रु. २५ करोडभन्दा बढी पर्छ । यो मेशिनलाई आम बोलचालको भाषामा एक्सरे मेशिन पनि भनिन्छ ।
पूर्ण कम्प्युटराइज्ड प्रविधिबाट बनेको बाहिरबाट हेर्दा ठूलो दमकलजस्तो देखिने र भित्रबाट कोठा आकारमा रहेको यो मेशिनलाई मोबाइल कन्टेनर भेहिकल इन्सपेक्सन सिस्टम भनिन्छ । यो इन्सपेक्सन मेशिनले भारत तथा तेस्रो देशबाट सामान लिएर आएको कन्टेनरलाई ३ मिनेटदेखि आधा घण्टासम्ममा जाँचेर कन्टेनर भित्र रहेको सामानको पूर्ण विवरण दिने गर्दछ ।
यो मेशिनले ३८० केभी विजुली खपत गर्दछ जुन सुक्खा बन्दगाहमा भएको विद्युत् क्षमताभन्दा बढी हो । यसलाई प्रयोगमा ल्याउन ६ जना भन्सारका कर्मचारीलाई १ महीनाको तालिममा चीन पठाए पनि यो प्रयोगमा आउन सकेको छैन । प्रयोगमा नआएरै यो मेशिन पटकपटक बिग्रिने गरेको छ ।
चिनिया प्राविधिक झिकाएर यसको मर्मत सम्भार पनि गरिसकिएको छ । यसलाई दुरुस्त राख्न महीनामा एकाधपटक चलाएर हेर्ने गरेको यहाँका कर्मचारीको भनाई छ । सुक्खा बन्दरगाह कार्यालय परिसरमा रहेको यो मेशिन कुनै पूर्वधार बिना नै ल्याएकोले यहाँको लागि घाँडोे भएको हो ।
सीर्सिया सुक्खा बन्दगाहस्थित भन्सारका प्रमुख अच्यूत शिवाकोटीले भने दक्ष प्राविधिक नभएकैले मेशिन सञ्चालनमा समस्या भएको बताए ।
बिम्मी शर्मा, वीरगञ्ज

