थप समाचारसोमबार, बैशाख ८, २०७१
गैंडा मरेनन्
पछिल्लो गणना अनुसार नेपालमा ५३४ गैंडा रहेकोमा चितवनमा ५०३ छन् । चितवनमा सन् १९५० मा ८५० गैंडा रहेकोमा सन् १९६६ मा घटेर १०० थिए । सन् २००० मा गणना गर्दा ५४४ गैंडा पाइए । २००५ को गणनामा ३७२ गैंडा भेटिएकोमा २०११ मा गणना गर्दा ५०३ वटा थिए ।
५ फागुन २०६९ मा निकुञ्जको पश्चिमी भेगमा एउटा गैंडा मृत भेटिएपछि चोरी शिकारीबाट गैंडा मारिएका छैनन् । वि.सं २०३० मा गैंडा संरक्षणका लागि बनाइएको चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ भने आसपासका ७५० वर्ग किमीलाई मध्यवर्ती क्षेत्र बनाइएको छ ।
एक वर्षसम्म चोरी शिकारीले गैंडा नमारिएकाले पछिल्लो ३६५ दिनलाई ‘शून्य चोरी शिकारी समय’ भनिएको छ । सन् २०११ लाई पनि शून्य चोरी शिकारी वर्ष भनिएको थियो । २०१२ र २०१३ मा एक÷एक गैंडा चोरी शिकारीबाट मारिएका थिए । सशस्त्र द्वन्द्व चरम रहेको वि. सं. २०५८ मा चोरी शिकारीबाट ३७ गैंडा मारिएका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर खागका लागि वार्षिक १० भन्दा बढी गैंडाको शिकार हुने गरेकोमा शून्यमा झर्नुले संरक्षणको सफलता देखाएको बताउँछन् ।
गैंडा चोरी शिकार हुनबाट जोगाएकोमा निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले यो वर्ष सम्मान पनि गरेको छ । विश्व वन्यजन्तु कोषका अन्तर्राष्ट्रिय अध्यक्ष योलान्दा काकावात्सेले चितवन आएर सम्मान प्रदान गरेका थिए । सो सम्मानले संरक्षणका गतिविधि गर्न थप हौसला मिलेको सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए ।
१२३ पोष्ट राखेर सुरक्षा गरेको नेपाली सेनाले यो निकुञ्जको थप सुरक्षाको लागि गत पुसदेखि हवाई गस्ती पनि थालेको छ । सुरक्षाको लागि गस्ती, क्याम्पिङ्ग अपरेशन, समुदायसँग सहकार्य र युवा परिचालन पनि गरिएको कुँवरले बताए । सुरक्षाका लागि निकुञ्जले तालिमप्राप्त कुकुर पाल्ने तयारी पनि गरिएको पौडेलले बताए ।
गैंडा मारेमा वा त्यसको अंग बेचबिखन गरेमा रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म जेल वा जेल र जरिवाना दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
सविता श्रेष्ठ, चितवन


