थप समाचारसोमबार, बैशाख ८, २०७१
शिक्षिकाको मृत्युबारे छानबिन गर्न माग
शिक्षिका अधिकारीको रहस्यमय मृत्यु भएको भन्दै पाल्पा सदरमुकाम तानसेनबाट पूर्वका पाँच गाविसका महिलाले छानबिनको माग गरेका हुन् । उनीहरु छानबिनको माग गर्दै ८ बैशाखमा र्याली पनि निकालेका छन् ।
उनीहरुले अधिकारको मुद्दामा न्याय गर्न, छोराछोरीको पालनपोषण गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । घरेलु हिंसाका कारण शिक्षिका अधिकारीको मृत्यु भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर माग अघि सारेका छन् ।
शिक्षिका अधिकारी १९ चैत राति सुत्ने कोठामा झण्डिएको अवस्थामा फेला परेकी थिइन् । माइती पक्षले २० चैतमै उनका श्रीमान् र परिवारविरुद्ध प्रशासनमा उजुरी दिएको छ ।
प्रहरीले उनका श्रीमान्, सासु, देवर र नन्दलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला अस्पताल पाल्पा, अञ्चल अस्पताल बुटवलमा समेत पोष्टमार्टम हुन नसकेपछि शवको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाइएको थियो ।
२९ वर्षीया मृतक अधिकारीको माइत स्याङ्जाको मालुङ्गमा हो । उनको १० वर्ष पहिले नै मागी विवाह भएको थियो । उनका तीन वर्षीय छोरा र पाँच वर्षीया छोरी छन् ।
देव पचभैया, पाल्पा

