समाचारसोमबार, बैशाख ८, २०७१

सगरमाथा आरोहण नरोकिने

रासस

विभिन्न संचारमाध्यममा आरोहणका लागि पथ प्रदर्शक फर्किन थालेको समाचार आइरहँदा आरोहण सम्बद्ध संस्थाहरुले आरोहण नियमित रहने जनाएका छन् । ५ बैशाखमा १३ जनाको ज्यान जाने गरी आएको हिमपहिरोपछि आरोहणमा गएका पथप्रदर्शक धमाधम फर्किन थाले भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि सर्वत्र यसप्रति चासो बढेको छ ।

इन्टरनेट तस्वीर

समाचारमा आएजस्तो हल्ला सत्य नभएको र आरोहण अनुमति लिएका आरोही दलले आरोहण गर्नकै लागि अहिले सगरमाथा आधार शिविरमा रहेको हिमाल आरोही सङ्घका अध्यक्ष वाङ्चु शेर्पाले बताए । उनले भने, “आरोहण कार्यलाई कसैले रोक्न सक्दैन, आरोहण दलका टोली नै फर्के भने कसैको केही लाग्दैन । घटनापछि अहिले बीचमा केही साना टोली फर्केका छन् तर ठूला टोलीले त्यस्तो निर्णय गरिसकेका छैनन् ।”

दुर्घटनापछि अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा जम्मा भएको बताइएको छ । दुर्घटना भएको भन्दा ६ हजार ५०० मिटरमाथि १५/१६ जना आरोही रहेको उनले बताए ।

उनका अनुसार अहिले सगरमाथा आरोहणका लागि आधार शिविर क्षेत्रमा शेर्पा, विदेशी आरोही गरी करिब ३ हजार ५०० जना पर्खेर बसेका छन् भने करिब एक हजार ५०० जना फर्किसकेका छन् ।

घटनामा मृत्यु भएकालाई रु.४० हजार रकम दिएकामा सरकारलाई धन्यवाद दिँँदै उनले भने, “यो अलि अपुग भयो, त्यसमा केही वृद्धि गरी परिवार र बालबच्चालाई शैक्षिक तथा रोजगारीमा लगाइदिए राष्ट्रिय सम्पत्ति हुने थियो ।”

सगरमाथाको घटना प्राकृतिक प्रकोप भएकाले संसारका कुनै पनि वैज्ञानिकले रोक्न नसक्ने र यसमा कसैको दोष नभएको उनको भनाइ छ । यसअघि सन् १९७३/७४ मा गएको हिमपहिरोमा २० जनाको मृत्यु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/७१ को साउन महीनादेखि चैत मसान्तसम्म २६० वटा पर्वतारोहण दलले हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् । यसमा सगरमाथामा मात्र ३१ वटा दलले अनुमति प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>