थप समाचारबुधबार, बैशाख १०, २०७१
एडीबीको सहयोगमा वीरगञ्जको फोहोर व्यवस्थापन हुने
एडीबीको सहयोग पाएपछि वीरगञ्ज उपमहानगरपालिकाले बैशाख मसान्तदेखि फोहोर व्यवस्थापनको काम शुरु गर्ने भएको हो । एडीबीको ८१ प्रतिशत अनुदान र १९ प्रतिशत ऋण सहयोगमा फोहोर व्यवस्थापनको काम अघि बढाउन लागिएको उपमहानगरपालिकाका योजना अधिकृत प्रकाशमान अमात्यले जानकारी दिए ।
योजना अन्तर्गत वीरगञ्ज शहरको सडकमा ढल बनाएर शहर बाहिर निकास दिने र ढलको पानीलाई ट्रिटमेन्ट (फिल्टर) गरेर पुनः प्रयोगमा ल्याइने छ । परियोजना निर्माणका लागि दुई विदेशी र दुई स्वदेशी गरेर चारवटा परामर्शदाता कम्पनीलाई जिम्मा दिइएको छ ।
अमात्यका अनुसार तीन वर्षभित्र योजना पूरा हुनेछ । वीरगञ्ज–१९ मा एडीबीकै सहयोगमा ल्याण्डफिल्ड साइट तथा भन्सार क्षेत्रमा वाटर ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना छ ।
परियोजना पूरा भएसँगै वीरगञ्ज शहरको मुहार फेरिने अमात्यले विश्वास व्यक्त गरे । एडीबीको सहयोग बाहेक उपमहानगरपालिकाले पनि परियोजनाका लागि रु.५६ करोड लगानी गर्ने जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

