समाचारबुधबार, बैशाख १०, २०७१
न्यायपरिषदको सिफारिसमा असन्तुष्ट मुख्य न्यायाधीशद्वारा राजीनामा
न्याय परिषदले ९ बैशाखमा सर्वोच्च अदालतका स्थायी न्यायाधीशमा गरेको सिफरिसप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले १० बैशाखमा पदबाट राजीनामा गरेका छन् ।
जुम्लामा पदभार रहे पनि हाल काजमा सर्वोच्च अदालतमा कार्यरत आचार्यले प्रधानन्यायाधीश दमोदर शर्मालाई राजीनामा बुझाएका हुन् ।
‘आफूभन्दा कनिष्ठलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरिएको’ राजीनामा पत्रमा उल्लेख छ ।
न्याय परिषद्ले ९ बैशाखमा सर्वोच्चमा रिक्त स्थायी न्यायाधीशमा नियुक्तिका लागि ८ जना पुनरावेदन अदालतका न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतले यसअघि कारवाहीको लागि सिफारिस गरेका पुनरावेदन अदालत बुटवलका कामु मुख्य न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई समेत परिषदले स्थायी न्यायाधीशमा सिफारिस गरेको छ ।
