समाचारबुधबार, बैशाख १०, २०७१

अदालतमा गाँजाको धूवाँ

हिमालखबर

२३ चैतमा अदालत परिसरमा जलाइएको गाँजाबाट धूवाँ फैलिएपछि नाक, मुख थुनेर हिंडेका बटुवा।

कमल रिमाल, विराटनगर

२३ चैत दिउँसो मोरङ जिल्ला अदालतको छेउमै रहेका नापी र मालपोत कार्यालयमा आएका सेवाग्राही खोक्न र नाक थुन्न थाले। अदालतबाट आएको धूवाँको मुस्लो ती कार्यालयहुँदै कोशी अञ्चल अस्पताल पनि पुग्यो।

इजलासमा पनि धूवाँ छिरेपछि अतिरिक्त जिल्ला न्यायाधीश ऋषिराम निरौलाले श्रेस्तेदार ध्रुवकुमार ढकाललाई बुझ्न लगाए, कर्मचारीले १२ किलो गाँजा जलाइँदै गरेको बताएपछि न्यायाधीश निरौला चूप लागे।

अदालत भवनभन्दा २० मिटर उत्तरपूर्वको पर्खाल छेउमा बलिरहेको गाँजाको धूवाँ अञ्चल अस्पतालको बच्चा वार्ड पनि छिर्योप।

त्यो बेला ड्यूटीमा रहेका बालरोग विशेषज्ञ डा. प्रवीण झाका अनुसार ४० शैच्चयामा रहेका बच्चालाई गाँजाको धूवाँले समस्या पार्न थालेपछि वार्डको झयालढोका बन्द गरेर हावा बाहिर फाल्ने फ्यान चलाउनु पर्यो । वार्डमा फोक्सोको इन्फेक्सन, निमोनिया र श्वास–प्रश्वासका बिरामी रहेको र त्यही दिन डिस्चार्ज हुन लागेका एक बालकलाई थप केही दिन अस्पताल राख्नु परेको डा. झा बताउँछन्।

८ चैतमा इलाका प्रहरी कार्यालय रानीले विराटनगर भन्सार नाकाबाट ६ जनालाई १२ किलो गाँजासहित पक्राउ गरेको थियो। श्रेस्तेदार ढकाल महीनामा त्यसरी पाँच पटकसम्म गाँजा जलाइने गरेको बताउँछन्। गाँजा तथा अन्य लागूऔषध गाड्दा दुर्व्यसनीले खनेर लग्ने गरेकाले जलाइन थालेको उनको भनाइ छ।

अदालतको आदेश
प्रहरीले गाँजा बरामद गरेपछि अदालत, प्रशासन र स्थानीय निकायको रोहबरमा आफैंले जलाउने गरेकोमा डेढ वर्षअघि जिल्ला अदालत मोरङको मुद्दा शाखाका कर्मचारीले ‘श्रीमान्को आदेश’ भन्दै अदालतमै लागूऔषध नष्ट गर्न प्रहरीलाई लगाएका थिए।

प्रहरीले लागूऔषध नष्ट नगरी बिक्री गर्ने वा सर्वसाधारणलाई फसाउने गरेकोले नष्ट गर्नुपरेको अदालतका कर्मचारी बताउँछन्। इलाका प्रहरी कार्यालय रानीले चालु आर्थिक वर्षमा पक्राउ गरेको २२ किलो गाँजा यसरी नै डढाइएको थियो।

जिल्ला प्रहरी कार्यालयले ११ चैतमा बरामद गरेको ११ किलो, ६ असोजमा ७ किलो ७०० ग्राम र ४ असोजमा ६ किलो गाँजा जलाइएको थियो।

११ चैत २०७० मा शरीरमा गाँजा बाँधेर तस्करी गर्ने ६ जना मोरङ प्रहरीले पक्राउ गरेपछि।

मोरङका ८ प्रहरी कार्यालयले बरामद गरेका गाँजा पनि त्यहीं जलाउने गरिएको छ। अधिवक्ता बालकृष्ण आचार्य नजिकै रहेको दाहसंस्कार स्थलमा जलाउनुपर्नेमा अदालतमा गाँजा जलाउनु गैरजिम्मेवार भएको बताउँछन्। पूर्वाञ्चलका डीआईजी नवराज सिलवाल पनि मानिसहरूको चहलपहल नहुने ठाउँमा गाँजा जलाउनुपर्ने बताउँछन्।

धूवाँको असर
गाँजाको धूवाँले मानिसलाई नशा लाग्ने लागूऔषध सेवनकर्तालाई सुधार्न विराटनगरमा पुनर्स्थापना केन्द्र चलाउने संजीव चापागाई बताउँछन्। गाँजा सेवनले शरीरको केन्द्रीय स्नायु प्रणाली शिथिल बनाउने पनि उनको भनाइ छ।

लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाइ विराटनगरका प्रमुख तथा प्रहरी निरीक्षक धु्रवकुमार श्रेष्ठ चुरोटमा मिसाइएको गाँजाको धूवाँले भन्दा त्यसरी बालिएको धूवाँले बढी असर पार्ने बताउँछन्। गाँजा जलाउँदा माक्स लगाउनु उपयुक्त हुने उनको सुझाव छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>