समाचारबिहीबार, बैशाख ११, २०७१
पर्यटन मन्त्री सगरमाथा आधारशिविरमा, आरोहीको माग पूरा गर्ने आश्वासन
बुद्धवीर बाहिङ, सोलुखुम्बु
सगरमाथामा ५ वैशाखमा गएको हिमपहिरोमा पुरिएर १३ जनाको ज्यान गएपछि सगरमाथा आरोहण गर्ने वा नगर्ने भन्ने अन्योलमा रहेका आरोहीलाई भेटेर पर्यटनी मन्त्री आचार्यले माग पूरा गरिदिने बताएका हुन् । ११ बैशाखमा टोली सहित सगरमाथाको आधारशिविरमा पुगेका उनले आरोहीको माग मन्त्रिपरिषद बैठकमा राखेर निर्णय गराउने बताएको सोलुखुम्बु जिल्लाका प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।
मन्त्री आचार्यसँगै पर्यटन सचिव, सहसचिवलगायत अन्य ट्रेकिङ कम्पनीका अधिकारीहरु हेलिकप्टरबाट ११ वैशाख बिहान पौने ९ बजे सगरमाथा आधारशिविरमा पुगेको थियो । दुई घण्टा आधारशिविरमा वार्ता गरेर टोली दिउँसो १ बजे राजधानी फर्किएको थापाले जानकारी दिए ।
आरोहणका क्रममा मृत्यु भएका परिवारका सदस्यलाई उचित क्षतिपूर्ती दिनुपर्ने, मृतकका बालबालिकालाई शिक्षाको व्यवस्था गरिदिनुपर्ने लगायत अन्य सुविधा हुनुपर्ने आरोहीहरुको माग छ ।
घटनापछि सगरमाथा आरोहण नगर्ने बताइरहेका आरोहीहरुलाई सरकारले सगरमाथा आरोहण गर्न यसअघि नै सार्वजनिक अपिल गरिसकेको छ । आधारशिविरमा सम्पर्क अधिकृत, सरदार तथा आरोहण सहयोगीहरुको संयुक्त बैठकले राखेको मागपछि सरकारले मृतकका परिवारलाई राहत रकम वितरण गरिसकेको छ ।
आरोहीहरुको मागलाई ध्यानमा राख्दै सरकारले आरोही राहत कोष स्थापना गर्ने, आरोही स्मारक बनाउने तथा बिमा रकम वृद्धि गर्नेलगायतका निर्णयसमेत गरिसकेको छ । हिमपहिरोमा परी अझै तीन जना बेपत्ता छन् ।

