थप समाचारशुक्रबार, बैशाख १२, २०७१
बढ्दो आत्महत्या, परामर्श आवश्यक
-प्रेमनारायण आचार्य, अर्घाखाँची
‘बाबा मम्मी I am sorry. म आफुलाइ बाँच्ने रहर नभएर मरे, यस बारेमा कसैले पनि दुख नमान्नु होला । भाइ बहिनीहरु राम्रोसँग पढ्नु बाबा मम्मीलाइ दुख नदिनु । ………… I love U. ’
अर्घाखाँचीको सन्धिखर्क–५ की १५ वर्षीया किशोरीले सुसाइड नोट लेखेर आत्महत्या गरिन् ।
अभिभावक बाहिर गएका बेला सँगैरहेकी बहिनीलाई समेत चक्लेट किन्न पाठएकी १० कक्षा पढ्ने किशोरीले सिलिङमा पंखा राख्न बनाइएको अंकुशेमा नाम्लोको पासो लगाइन् ।
९ वैशाख बिहान ११ बजेको घटना हो यो । गत साउनदेखि हालसम्म मात्रै अर्घाखाँचीमा ३१ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा छ । गएको वर्ष जिल्लामा आत्महत्या गर्नेहरुको संख्या ३६ थियो ।
१० कक्षामा अध्यनरत किशोरी कसैको प्रेममा परेको र ‘धोका’ पाएपछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार किशोरीको डायरीले पनि त्यसैतर्फ संकेत गरेको छ ।
अर्घाखाँचीमा एक वर्षभित्र आत्महत्या गर्नेहरुमा १३ देखि ६५ बर्षसम्मका छन् ।
माया–प्रेममा धोका, परिवारिक किचलो, पति विदेशिएर एक्लिएका पत्नी, दाइजो, जातीय–समाजिक भेदभाव, धनी र गरीबवीचको गहिरिंदै गएको दूरी जस्ता उत्पीडनले गर्दा आत्महत्याका घटना बढ्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल बताउँछन् ।
आत्महत्याका समाचार प्रकाशन– प्रशारण नगर्ने धेरै मिडियाहरुको मान्यताका कारण यस्ता घटना धेरै भए पनि प्रकाशमा आउन सकेका छैनन् ।
आत्महत्या गर्नेहरुमध्ये झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या धेरै छ भने उमेर समूहमा १५–३० उमेर समूहका बढी छन् ।
किशोर–किशोरीहरुले उचित परमार्श नपाउनु, आफ्ना भावना व्यक्त गर्ने साथी नपाउनु र परिवारले पनि बेवास्ता गर्नु, छिटै बहकिने यो उमेरमा साना घटनाले पनि ठूलै मानसिक पीडा दिनु जस्ता कारणले आत्महत्या गर्नेहरुमा किशोर किशोरीहरु बढी भएको इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालको भनाई छ ।
आफ्नै परिवारका सदस्य वा साथी–भाईमध्ये कसैले एकोहोरिने, असामान्य व्यवहार देखाउने, दुखी भइरहने जस्तो बानीब्यहोरा देखाएमा उनीहरुसँग नजिकिएर, स्नेह देखाएर उचित परामर्श र ढाढस दिने र त्यसले नपुगे मनोचिकित्सकका लगेर उपचार गराउँदा आत्महत्याका धेरै घटना कम हुने सम्बन्धित विज्ञहरु वताउँछन् ।
त्यसैगरी आफ्ना किशोर किशोरीहरु कस्तो संगतमा छन्, के गर्दैछन् भन्ने बारे चासो देखाउनु पर्ने र उनीहरुसँग मित्रवत व्यवहार देखाउँदा पनि समस्या कम हुने मनोचिकित्सकहरुको भनाई छ ।
गरीबको रोजाइ आत्महत्या
दश वर्षमा साढे ३१ हजारको आत्महत्या
आत्महत्याको प्रमुख कारण घरेलु हिंसा
