समाचारशुक्रबार, बैशाख १२, २०७१

राप्रपा नेपालले सबै समितिको निर्वाचन बहिस्कार गर्ने

हिमालखबर

संविधानसभामा चौथो ठूलो दल बनेको राप्रपा नेपालले प्रमुख राजनीतिक दलहरुले आफूलाई निषेध गर्दै कुनै समितिमा सभापति नबनाउने भएपछि निर्वाचन बहिस्कार गर्ने जनाएको छ ।

१२ वैशाखमा बसेको पार्टी संसदीय दलको बैठकपछि राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “फरक विचार र अडान अवलम्बन गरेकै कारणले गर्दा संविधानसभा अन्तर्गतका समितिहरुको निर्वाचनमा राप्रपा नेपाललाई निषेध गर्ने केही राजनैतिक दलहरुको नियतप्रति खेद प्रकट गर्दै आज हुने समितिहरुको निर्वाचनलाई राप्रपा नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ।”

संविधान निर्माणमा सवै राजनैतिक दलहरुको सहयोग र सहमति नितान्त आवश्यक रहन्छ भन्दै अलग पहिचान र फरक विचारका बावजुद राप्रपा नेपालले संविधान निर्माणको निमित्त सकारात्मक योगदान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

केही राजनैतिक दलहरुले समितिको निर्वाचनको क्रममा संकिर्ण र निषेधको मानसिकता प्रदर्शन गरेका आरोप लगाउँदै विज्ञप्तिमा यस्तो कार्यले सहमतिको आधारमा संविधान निर्माण गर्ने दिशामा गम्भिर ठेस पुर्यानएको भनिएको छ ।
संबिधान सभाका ५ समितिमध्ये एक समितिको नेतृत्व आफूले पाउनुपर्ने माग राप्रपा नेपालले गरेपछि तीन ठूला दलले ५ वटै पदमा निर्वाचन गर्ने निर्णय गरेका थिए ।

ठूला तीन दलले ५ मध्ये एक-एक सभापति आफूले लिने र दुई सभापति मधेशी तथा साना दलहरुलाई दिने सहमति गरेका हुन् ।

जसअनुसार संविधान मस्यौदा समितिमा कांग्रेस महामन्त्री कृष्ण सिटौला, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा एमाले सचिव विष्णु पौडेल, क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा फोरम नेपालकी लक्ष्मीकुमारी चौधरी र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा नेकपा संयुक्तकी प्रमिला राणाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने पक्का छ ।

संवाद समितिको सभापतिमा भने एमाओवादी नेता बाबुराम भट्टराई विरुद्ध निर्वाचन प्रक्रियाको विरोध गरिरहेका साना दलमध्येबाट रामकुमार राईले उम्मेदवारी दिएका छन् ।

१२ वैशाख साँझ ५ बजे हुने संविधानसभा अन्तर्गतका पाँचवटा समितिका सभापतिका लागि निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>