थप समाचारशुक्रबार, बैशाख १२, २०७१

लागुऔषधको लत, टाढै रहनु बेस

हिमालखबर

जीतपुरमा पक्राउ परेका लागुओषध दुर्व्यसनी । तस्वीर: श्याम गुप्ता

११ बैशाख साँझ बाराको जितपुरस्थित पाडाबजारको सडकमा एक जोडी युवा लरबराउँदै हिंडिरहेका थिए ।

करिब २२ वर्षकी युवती र उस्तै उमेरका युवक केही असामान्य रुपमा हिंडेको देखेपछि प्रहरीले सोधपुछ गर्दा उनीहरु लरबराउँदै जवाफ दिए । शंका लागि प्रहरीले तलासी गर्दा उनीहरुका साथबाट लागु औषध न्यारोपिन इन्जेक्शन ४५ थान, फेनार्गन ४७ थान, डाइजापाम ट्याब्लेट ४७ थान र तीन थान सिरिन्ज बरामद भयो ।

बारा–पर्साका बजारमात्रै होइन गाउँ गाउँमा लागु औषधले लठ्ठिएका किशोर र युवाहरु प्रशस्तै देखिन्छन् ।

जितपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक अरुणकुमार कुशवाहाका अनुसार रक्सी, गाँजा, हेरोईन, ब्राउन सुगर जस्ता लागु औषध दुव्र्यसनीको संख्या यसक्षेत्रमा बढ्दो छ । सीमावर्ती भारतीय बजारमा सहजै उपलब्ध हुने लागु औषध प्रयोग गर्न अन्य जिल्लाका दुव्र्यसनीहरु पनि यता आउने गरेको उनले बताए ।

जीतपुरकै समाजसेवी बलिरामप्रसाद गुप्ता भन्छन्– “यहाँका क्याम्पस, स्कुल पढ्ने छात्रछात्राहरु बिहानदेखि बेलुकीसम्म वीरगञ्जको अलखिया मठ पछाडीको गल्लीमा लागुऔषधले लठ्ठिएको अवस्थामा सँधै देखिन्छन् ।”

यो समस्याबाट पार पाउन किशोर युवाहरुलाई उचित परामर्श, अभिभावकको रेखदेख र प्रहरी निगरानी उत्तिकै जरुरी रहेको उनको भनाई छ ।

“मेरा श्रीमान पनि लागु औषध प्रयोगकर्ता हुन्,” पाडाबजारमा साथीसँगै पक्राउ परेकी युवती भन्छिन, “पाँच वर्षअघि साथीहरुको लहलहैमा लागु औषध खान शुरु गरियो अहिले चाहेर पनि छोड्न सकेकी छैन । मर्नु न बाँच्नु भयो ।
उनले आफ्नो स्थायी ठेगाना कास्कीको लुम्ले– २ भएको बताइन् । युवा चाहीं कास्कीकै ठाडोपसलका रहेछन् ।
लागु औषधसहित पक्राउ परेको यो जोडीलाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको जीतपुर प्रहरीले जनाएको छ ।

लागुऔषधको दूव्र्यसनबाट युवालाई बचाउन अभिभावक, स्थानीय समाज, प्रहरी र सबै सरोकारवालाको उत्तिकै भूमिका हुने कुशवाहा बताउँछन् । “प्रहरीले पक्राउ गर्दैमा मात्रै यो समस्या समाधान हुँदैन,” प्रहरी नायव निरीक्षिक कुशवाहाले भने ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>