समाचारशनिबार, बैशाख १३, २०७१
अपराधीलाई उन्मुक्ति दिन ३ दलको मिलोमतो: कमल थापा
१३ वैशाखमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सशस्त्र हिंसाका बेला जघन्य अपराध गर्नेहरुलाई पनि माफी दिनका लागि तीन दल मिलेर सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक पारित गरेको बताएका छन् ।
मानवता विरोधी अपराधका दोषीलाई कानूनअनुसार कारबाही गर्नका लागि राप्रपा नेपालले संसद्मा संशोधन प्रस्ताव दर्ता गराएको भए पनि बहुमतका बलमा जघन्य अपराधीलाई माफी दिने गरी कांग्रेस, एमाले र एमाओवादी मिलेर विधेयक पारित गराएको आरोप लगाए ।
अध्यक्ष थापाले संविधान निर्माणका विभिन्न प्रक्रियामा चौथो ठूलो शक्ति राप्रपा नेपाललाई तीन ठूला दल मिलेर निषेध गरेको भन्दै सबै राजनीतिक दलको भावना र अजेन्डालाई समावेश नगरेरै संविधान जारी भए पनि त्यसले मुलुकको समस्या समाधान नहुने धारणा व्यक्त गरे ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र एमाआवोदीले निषेधको राजनीति गरेकाले आफ्नो पार्टीलाई संविधानसभा अन्तर्गतका कुनै पनि समितिको सभापति पद नदिएको बताए ।
कार्यकर्ताको चाहनाअनुसार आगामी केन्द्रीय अधिवेशनबाट पार्टीको नाम परिवर्तन हुन सक्ने सम्भावना रहेको अध्यक्ष थापाले बताएका थिए ।
रासस
