समाचारशनिबार, बैशाख १३, २०७१
दण्डहिनता बढ्योः पूर्वराजा शाह
पृथ्वीनारायण शाह प्रतिष्ठानले चितवनको नारायणगढमा १३ वैशाखमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान निर्माणमा सबैका विचार र मान्यतालाई समेट्नु पर्नेमा जोड दिएका छन् ।
“जनताद्वारा निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माणका क्रममा केहीको मात्र हैकम हुनुहुन्न,” शाहले भने,“संविधानसभाले सबैका विचार मान्यता र आस्था समेट्नु पर्छ, कसैप्रति विभेद र खेदको दृष्टि राख्नुहुँदैन ।”
राज्य पुनःसंरचनाप्रति चासो व्यक्त गर्दै पूर्वराजा शाहले त्यस क्रममा राष्ट्रियता र जनताबीचको एकतालाई ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
आफूसँगको भेटमा जनताले राजनीतिक परिवर्तनप्रति असन्तुष्टि पोख्ने गरेको भन्दै उनले सङ्क्रमणकाल लम्बिएको, दण्डहीनता बढेको, शान्ति सुरक्षा कमजोर भएको तथा देशको गिर्दो अवस्थाप्रति जनताले गम्भीर गुनासो गर्ने गरेको दाबी गरे ।
“धर्म, संस्कृति, लोकनीति पद्धतिमा आँच, विकृति, विसङ्गति बढ्यो भन्ने बेदना विभिन्न जनजातिमा रहेको पाएको छु, विविधता भएको देशमा एकता कसरी ल्याउने चिन्ता पनि पाएको छु”, उनले भने ।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राडा सुरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्व नेता देवेन्द्र नेपालीले मुलुकको समसामयिक राजनीति र राष्ट्रियताको बारेमा धारणा राखेका थिए ।
१२ वैशाखमा बाराबाट चितवन पुगेका पूर्व राजा शाहले चितवन भ्रमणका क्रममा विभिन्न मठमन्दिरमा पूजाअर्चना समेत गरेका छन् ।
सविता श्रेष्ठ, चितवन

