समाचारशनिबार, बैशाख १३, २०७१
चिनियाँ जहाज आइतबार आइपुग्ने
चीन सरकारले अनुदानमा उपलब्ध गराउन चीनमा निर्मित ५६ सिटे विमान १४ वैशाखमा काठमाडौं आउने भएको नेपाल वायुसेवा निगमले जनाएको छ । मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको सो विमान आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ ।
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार चीनबाट उडान गरेर विमान आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । ‘‘केही प्राविधिक तयारी तथा कागजात मिलाउन एक दिन बढी लागेका कारण आज जहाज अवतरण हुन सकेन, सबै प्रक्रिया मिलिसकेको छ, आइतबार जहाज आइपुग्छ,’’ शर्माले भने ।
चीन सरकारले आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गरेका कारण पछिल्लो दिनमा आशङ्का बढे पनि १२ वैशाखमा निगमले सो पत्र प्राप्त गरेको थियो तर प्राधिकरणले सो जहाजलाई उडान अनुमति भने दिएको छैन ।
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानकोे सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए ।
“जहाजको आवश्यक परीक्षण जरुरत पर्छ, बिमा गरिएको छ वा छैन, जहाज कसले उडाउनेलगायत विषयमा आवश्यक जाँचपड्ताल नगरिकन त अनुमति दिन सकिँदैन ’’ महानिर्देशक सुमनले भने ।
जहाज आएपछि उडान अनुमति पनि दिने प्राधिकरणको भनाइ छ । पछिल्लो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा मुलुकको हवाई क्षेत्रमा विभिन्न खालका चुनौती एवम् समस्या देखिएकाले परीक्षण गर्न लागिएको हुन सक्ने विज्ञको भनाइ छ ।
निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याउन लागेको हो । गत फागुन ४ मा निगमसँग रहेको ट्विनअटर विमान दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । निगमको साख धानेको अर्को सोही ढाँचाको जहाजसमेत गत चैतमा समस्या उत्पन्न भएपछि निगम जहाजविहीन बन्न पुगेको थियो ।
अनुदानमा नै प्राप्त हुने अर्को जहाज भने दुई महिनापछि आइपुग्ने छ ।
