समाचारशनिबार, बैशाख १३, २०७१
विराटनगरमा जन्डिसको माहामारी, सरकारी अस्पतालमा रक्त परीक्षणको सुविधा छैन
पूर्वाञ्चलकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अञ्चल अस्पतालमा अहिले जन्डिसका बिरामीले भरीभराउ छ् । वरिष्ठ चिकित्सक दिपक सिग्देलका अनुसार अस्पतालको मेडिकल ओपीडीमा परीक्षणका लागि आएका २०० मध्ये ६० जनालाई जन्डिस पाइएको छ ।
चिकित्सकका अनुसार जन्डिस भएकामध्ये २.५ प्रतिशतको कलेजोमा गम्भीर संक्रमण देखिएको छ ।
चिकित्सका अनुसार चतरामा लागेको कुम्भ मेला र विराटनगरमा एक साताअघि भएको खाद्य महोत्सवमा अशुद्ध खाने कुरा खाएर आएकाहरुमा कलेजोको संक्रमण देखिएको छ ।
विराटनगरको सडक बिस्तार गर्ने क्रममा नालाको पानी खाने पानीको पाइपमा मिसिएको हुन सक्ने र त्यसबाट पनि जन्डिस फैलेको हुन सक्ने उनको भनाई छ । विराटनगरका निजी अस्पतालहरुमा पनि जन्डिस रोगीहरुको उत्तिकै चाप छ ।
जन्डिसले महामारीको रुप लिन सक्ने भन्दै चिकित्सकहरुले रोकथामका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङलाई आग्रह गरिसकेका छन् ।
जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले एफएमबाट सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणलाई सचेत गराइएको बताए । जन्डिसका बिरामीका लागि विशेष औषधि नहुने तथा बिरामीले आराम गरेरै निको हुनु पर्ने बाध्यता रहेको चिकित्सकहरु बताउँछन् ।
जन्डिस का रोगी बढी रहेका बेला अञ्चल अस्पतालको ल्यावमा भने एक सातादेखि केमिकल अभावमा रगत परीक्षण बन्द छ ।
कमल रिमाल, विराटनगर
