थप समाचारआइतबार, बैशाख १४, २०७१
जाजरकोटमा खाद्यान्न अभाव
खाद्य संस्थानले जाजरकोटको चौखा र घाट डिपोबाट सहुलियतको चामल नियमित रूपमा बिक्री नगर्दा दुर्गम गाविस रग्दा, भगवती, खगेनकोट, रामीडाँडा, रोकायगाउँ र सक्लामा खाद्य समस्या चर्किएको छ ।
संस्थानले ठेकेदारद्वारा आपूर्ति गर्दै आएको चामल एकैपटक बिक्री गर्दा स्थानीयवासीले चाहेको बेला नपाउने, महिनामा एकपटक आएको चामल पैसा हुनेहरुले धेरै किन्ने गर्दा गरीबले चामलको अभाव व्होर्नुपरेको स्थानीयको गुनासो छ ।
“गरीबसँग ३० किलो किन्ने पैसा पनि हुँदैन । ३० कलोभन्दा घटी ठेकेदारले बिक्री गर्दैनन् । यही कारण उनीहरूले चाहेको बेला चामल पाउन सकेका छैनन्,” स्थानीय तेजबहादुर विकले भने ।
करोडौँको लगानीमा बनेको चौखा गोदाममा घोडा, खच्चडलगायत पशुचौपाया थुन्ने गरिएको छ । १७ वर्षदेखि गोदाममा चामल राखिएको छैन । संस्थानले चालु आर्थिक वर्षमा चौखा डिपोका लागि ५०० क्विन्टल चामल पठाउँदा पनि गरिबको घरमा नपुगेको स्थानीय उपभोक्ताको गुनासो छ ।
यसैबीच, सहुलियत मूल्यमा उपलब्ध गराउने चामल थप रकम लिएर बिक्री भएको खुलासा भएको छ ।
चौखा डिपोका ढुवानी ठेकेदारले प्रतिक्विन्टल तीन हजार २०० मा बिक्री गर्नुपर्ने चामलमा थप मूल्य लिएर तीन हजार ७०० रुपैयाँमा बिक्री गरेको स्थानीयवासी बताउँछन् ।
संस्थानको पजारुस्थित घोगी डिपोमा पनि ठेकेदारले ९७० पर्ने ३० किलो जापानी चामल एक हजार २०० रुपैयाँमा बेचेको संस्थानका सहायक कर्मचारी हीरा शाहीले बताए ।
प्रतिस्पर्धामा न्यून दरमा ढुवानी ठेक्का पारेका ठेकेदारले सहुलियत दरभन्दा बढीमा बेच्दा उपभोक्ता आक्रोशित बनेका छन् ।
संस्थानले निर्धारण गरेको दरभन्दा ठेकेदारले बढी मूल्य लिँदा स्थानीयवासी मर्कामा परेको रग्दा गाविस सचिव कुलदीप शाहले बताए ।
निर्धारित कोटा अनुसारको चामल नै ढुवानी हुँदैन । त्यो पनि ठूलो मूल्य अन्तर हुँदा झन् अन्याय भएको उनको भनाइ छ ।
जिल्लाको पजारु, कोर्ताङ, दह, रग्दा, भगवतीलगायतका गाविसमा धान उत्पादन नहुने हुँदा त्यहाँका जनतालाई संस्थानको चामलमा भर पर्नुपर्छ ।
यता, अञ्चल कार्यालय नेपालगन्जका प्रमुख शङ्कर सापकोटा भने संस्थानले तोकेको मूल्यभन्दा एक रुपैयाँ पनि बढीमा चामल बेच्न नपाइने बताउँछन् ।
रासस
