समाचारमंगलबार, बैशाख १६, २०७१
पुबुदुको करार एक वर्ष थपिन्छः प्याकुरेल
क्यानका महासचिव प्याकुरेलले प्रशिक्षक पुबुदुको करार अवधि एक वर्षकै लागि हुने बताएका हुन् । हिमालखबरसँग कुरा गर्दै उनले भने, “क्यानले चाँडै नै पुबुदुसँगको सम्झौता एक वर्षका लागि नविकरण गर्नेछ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यान पदाधिकारीमाथि अनुसन्धान गरिरहेकाले तत्काललाई तीन महीना मात्र करार थप गरेको उनको भनाइ छ । “क्यानका पदाधिकारीले अख्तियार धाइरहेका छौं,” उनले भने, “राष्ट्रिय टोलीलाई मलेशिया खेल्न पठाउनुपर्ने हतारोका कारण पनि अहिले ३ महीनाको अवधी मात्र थपेको हो ।”
अहिले पुबुदुसँगको अवधि थपेर टोलीलाई मलेशिया उडाउनु नै महत्वपूर्ण भएको पनि उनले जिकिर गरे । “क्यानको बोर्ड बैठक चाँडै बस्छ र एक वर्षलाई सम्झौता थपिन्छ,” उनले भने ।
क्यानले १५ बैशाखमा पुबुदुको करार ३ महीना थप गरेको हो । क्यानले यसअघि एक वर्ष करार थप्ने बताएको थियो ।
पुबुदुसँगको करार १७ चैतमा सकिएको थियो । उनी सन् २०११ मा नेपाल आएका थिए ।
दीपेन्द्र सापकोटा, काठमाडौं
