थप समाचारबुधबार, बैशाख १७, २०७१
लालझाडीमा एउटा बाघ भेटियो, शुक्लाफाँटामा १७ वटा
क्यामरा ट्रयापिङबाट दुई सातासम्म गरिएको बाघ गणनामा लालझाडी बनमा एउटा बाघ भेटिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
तराई भू–परिधी कार्यक्रम (ताल) र जिल्ला वन कार्यालय कञ्चनपुरले यसक्षेत्रमा पहिलोपटक बाघ गणना गरेका हुन् ।
“गत २० चैत देखि ७ वैशाखसम्म गरिएको गणनाका क्रममा एउटामात्र बाघ भेटियो’’ जिल्ला वन अधिकृत पशुपति कोइरालाले भने ।
सरकारले ७ असोज २०६७ देखि कैलाली र कञ्चनपुरको भू–भागलाई समेटर लालझाडी मोहना संरक्षित वन घोषणा गरेको थियो । लालझाडी बाघ ओहोरदोहोर गर्ने ‘करिडोर’ हो ।
३ सय ५० वर्ग किलोमिटर क्षेत्रफल रहेको लालझाडी बाघको करिडोरका रुपमा चुरे क्षेत्रसित जोडिएको ब्रह्मदेव क्षेत्रमा पनि बाघ गणना थालिएको छ ।
बाघ गणना गरिएको लालझाडी संरक्षित वनसँगै जोडिएको ब्रह्मदेव सामुदायिक बनको २५० वर्गकिलोमिटर रहेको छ ।
बाघ, हात्ती लगायतका वन्यजन्तु भारतको दुधवा राष्ट्रिय निकुञ्ज हुँदै लालझाडी भएर चुरे क्षेत्रसित जोडिएको व्रह्मदेवसम्म ओहोरदोहोर गर्छन् । यो संवेदनशिल जैविक मार्गका रुपमा चिनिन्छ ।
यसअघि शुक्लाफाँटा बन्यजन्तु आरक्षमा बाघ गणना गरिँदै आएको थियो । यो वर्ष शुक्लाफाँटामा १७ वटा बाघ भेटिएका छन् ।
बच्चु विक, कञ्चनपुर

