समाचारबुधबार, बैशाख १७, २०७१
नेता ओलीलाई बैंकक लगियो
फंगल मेनिन्जाइटिस भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका एमाले नेता केपी शर्मा ओलीलाई लिन थाइल्याण्डबाटै आइपुगेको एयर एम्बुलेन्सबाट उनी आज दिउँसो बैंककतर्फ लागेका हुन् ।
ओलीसँगै शिक्षण अस्पतालमा उनको उपचारमा संलग्न मृगौला रोग विशेषज्ञ डा। दिव्या शाह र ओलीका सहयोगी राजेश शाक्य बैंकक गएका छन् ।
ओलीको उपचार बैंककस्थित बुमरुमगार्ड अस्पतालमा गरिने भएको छ ।
मृगौला प्रत्यारोपण गरिएका ओली दिल्लीमा डेढ महिना लामो उपचारपछि स्वदेश फर्केको दुई हप्तामै फेरि विरामी परेका हुन् ।
ओलीको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि १६ वैशाखमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र उपप्रधानमन्त्री वामदेव गौतमबीच भएको छलफलमा उनलाई उपचारका लागि बैंकक लैजाने निधो गरिएको थियो ।
———————————————————————————————————————–
नेता ओलीलाई एयर एम्बुलेन्सवाट बैंकक लगिदैं
शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराई रहेका नेकपा एमाले नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बैंकक लगिदैं छ ।
फंगल मेनिन्जाइटिस भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका एमाले नेता केपी ओलीलाई थप उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक लगिदैं छ ।
लगातार वान्ता आउने, ज्वरो आउने भएपछि १४ वैशाख राति ओलीलाई काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको मेरुदण्डबाट निकालिएको तरल पदार्थ परीक्षणका लागि भारत पठाइएको र उताबाट पनि मेनिन्जाइटिस नै भएको भन्ने रिपोर्ट आएको उपचारमा संलग्न चिकित्सक दिव्या सिंह शाहले बताइन् ।
मेनिन्जाइटिसको उपचार नेपालमै हुनसक्ने भए पनि मृगौला प्रत्यारोपण गरेका ओलीको शरीरमा रोगप्रतिरोधी क्षमता निकै कम भएको र थप संक्रमणको खतरा भएको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान चिकित्सकहरुले नै सल्लाह दिएका हुन् ।
शरीरमा विभिन्न संक्रमणहरु देखिएपछि यसअघि करिब डेढ महिना दिल्लीमा उपचार गराएका ३ वैशाखमा नेपाल फर्किएका थिए । दिल्लीमा उनलाई चिकित्सकहरुले धेरै नबोल्न र भिडभाडमा नबस्न सल्लाह दिए पनि पार्टी महाधिवेशनको तयारीमा लागेका ओलीले चिकित्सको सल्लाहलाई पूर्ण पालना गर्न सकेका थिएनन् ।
ओलीको उपचारका लागि लाग्ने सबै खर्च सरकारले ब्यहोर्नेगरी परराष्ट्रमन्त्रालयले तयारी गरिरहेको परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले बताएका छन् ।
बैंककबाट एयर एम्बुलेन्स ल्याउन पूरा गर्नु पर्ने पक्रियामा केही समय लाग्ने भएकोले उताबाट एम्बुलेन्स कति बेला आइपुग्छ भन्ने निश्चित नभए पनि सकभर आजै ओलीलाई बैंकक लैजानी तयारी गरिएको पनि उनले बताए ।
