समाचारबुधबार, बैशाख १७, २०७१
ठेकेदारी शैलीले पार्टी चल्दैनः नेपाल
पुष्पलालस्मृति प्रतिष्ठानले पोखरामा १७ वैशाखमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएकाले नै पार्टी नेतृत्व गर्ने भन्दै ‘ठेकेदारी शैली’ मा पार्टी नचल्ने बताएका छन् ।
“पार्टी कुनै ठेकदारी शैलीमा चल्ने प्राइभेट कम्पनी जस्तो होइन,”उनले भने, “ठेकदारी शैलीबाट बनेको नेतृत्वले पार्टी चलाउन पनि सक्दैन ।”
उनले पार्टीमा गैर राजनीतिक प्रवृत्ति हावी हुन थालेको भन्दै पार्टीलाई प्राइभेट कम्पनी जस्तो बनाउन खोज्नु आपत्तिजनक भएको बताए ।
पार्टीको आसन्न महाधिवेशनतर्फ लक्षित गर्दै नेता नेपालले देश र पार्टीको वर्तमान अवस्था बुझेर सही नेतृत्व छान्न कार्यकर्तालाई आग्रह गरे । नवौं महाधिवेशन महत्वपूर्ण भएको बताउँदै उनले बलियो र सबैलाई आकर्षण गर्ने सक्ने नेतृत्वको खाँचो रहेकोमा जोड दिए ।
उक्त कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य भीम रावलले पार्टीको नवौं महाधिवेशनमा माधवकुमार नेपाल अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवार भएको भन्दै गुटबन्दीमा नलागी सक्षम नेतृत्व छान आग्रह गरेका थिए ।
कार्यक्रममा घनश्याम भुषाल, रविन्द्र अधिकारीलगायतले सम्बोधन गरेका थिए ।
माधव बराल, पोखरा
