समाचारशुक्रबार, बैशाख १९, २०७१
एमाओवादी सम्मेलनमा दाहालको आलोचना
पार्टी नेतृत्व परिवर्तनबारे एमाओवादीभित्र लामो समयदेखि चलिरहेको बहशले बिराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा गति लिएको छ ।
दाहालले भने हेटौंडा महाधिवेशनले तय गरेको कार्यदिशा अन्तर्गत पार्टी सञ्चालन भइरहेको भन्दै बचाउ गरेका छन्।
पार्टीको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बाबुराम भट्टराईले पार्टी अगाडि बढाउन नयाँ बिचार र नयाँ नेतृत्व अपरिहार्य भएको बताए।
उनले भने, “अब हामीलाई हिजोकै विचार, कार्यदिशा र संगठनले पुग्दैन। हिजोकै नेतृत्व र तपाइँहरुको तागतले पुग्दैन। एउटा नयाँ शक्तिको रुपमा हामीले आफूलाई विकास गर्नुछ।”
त्यसैगरी नारायणकाजी श्रेष्ठले एमाओवादी अन्य पार्टीजस्तै हुने खतरा बढेको भन्दै घुमाउरो शैलीमा नेतृत्वको आलोचना गरेका थिए।
उनले भने, “सांगठनिक रुपले क्रान्तिकारी कम्यूनिष्ट पार्टी अर्को कांग्रेस वा एमाले बन्ने खतरा छ। हामीले त्यसबाट पार्टीलाई अन्यौल मुक्त गर्नुपर्छ।”
उनीहरु दुवैले पार्टीलाई नयाँ विचार र नेतृत्व दिन सम्मेलनमा बृहत बहस र छलफल हुनुपर्ने बताए ।
दुइजना वरिष्ठ नेताले नेतृत्वको आलोचना गरेपछि अध्यक्ष दाहालले नेता र कार्यकर्ताको कार्यशैलीका कारण पार्टी राम्रोसंग सञ्चालन हुन नसकेको भन्दै आफनो बचाउ गरेका थिए।
उनले भने, “हाम्रा पार्टी कमिटिहरु बैठक राम्रोसँग बस्न नसक्ने, बहस राम्रोसँग गर्न नसक्ने अनि जनताको काम गर्ने भन्दा आ-आफ्नै व्यक्तिगत काम गर्ने जस्ता हुन पुगे। नेता कार्यकर्ताहरुको शैली आत्मकेन्द्रीत हुनपुग्यो।”
विराटनगर सम्मेलनले पार्टीलाई रुपान्तरण गर्ने उनले बताएका छन्।
चारदिनसम्म चल्ने सम्मेलनमा एक हजार भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन्।
