समाचारशुक्रबार, बैशाख १९, २०७१

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सरकारलाई निर्देशन

हिमालखबर

अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको १९ वैशाखमा सिंहदरबारमा बसेको पहिलो बैठकले परराष्ट्र मन्त्रालय राहदानी शाखामा पासपोर्ट लिने क्रममा महिलामाथि दुव्र्यवहार हुने गरेको भन्दै महिलाको सुरक्षा व्यवस्था मिलाउन र व्यवस्थित तरिकाले राहदानी वितरण गर्ने वातावरण बनाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको छ ।

ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले महिलालाई सरोकारवाला निकायबाट प्रवेशाज्ञा (भिसा) दिने अवस्थाका बारेमा पनि जानकारी गराउन तथा मलेशियासित श्रम सम्झौता सकिएर कामदार अन्योलमा परेकाले यसको समाधानका लागि समेत सरकारलाई निर्देशन गरेको छ ।

त्यसैगरी सरकार गठन भएको लामो समय बितिसक्दा पनि राजदूत नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको भन्दै चाँडो राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन र सोबारे समितिलाई जानकारी गराउन पनि बैठकले निर्देशन दिएको छ ।

बर्खा लाग्न सुरु भइसकेकाले डुबान, सीमा, कृषिलगायतका समस्याबारे जानकारी लिन तथा नेपाल–भारतको सीमामा नेपाली श्रमिकमाथि हुने गरेको शोषण, दुव्र्यवहारप्रति बैठकले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

नेता नेपालले विगतमा सरकारले केही काम गर्न खोज्दा समितिले हस्तक्षेप गर्ने प्रवृत्ति देखिएको भन्दै समितिले हस्तक्षेप नगरी सहयोग गर्नुपर्ने बताएका थिए ।

उनले भने, “सरकारलाई काम गर्न दिनुपर्छ, पहिला पनि प्लेन किन्न खोज्यो समितिले रोक्ने, राजदूत नियुक्ति गर्न खोज्यो रोक्ने यस्तो काम समितिले गर्ने हैन, आवश्यक राय सुझावसहित सरकारको कामलाई सहयोग गर्नेतर्फ समिति लाग्नुपर्छ ।”

बैठकमा समितिका ४६ सदस्यमध्ये २४ जनाको मात्र उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>