समाचारशुक्रबार, बैशाख १९, २०७१
सभापतिले कार्यवाहक तोक्नुपर्छः शेखर कोईराला
नेपाल प्रेस युनियनले १९ वैशाखमा लमजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारको नेतृत्व पनि गरेका सभापति सुशील कोइरालाले पार्टीको समेत नेतृत्व लिइरहँदा काम सहज नहुने भन्दै कार्यवाहक सभापति तोक्न माग गरेका छन् ।
“मिलिजुली सरकारको नेतृत्व गर्दा यसै पनि सरकारको काम ढिलो भइरहेको छ,” कोइरालाले भने, “पार्टीमा कार्यवाहक सभापति नतोक्दा पार्टी र सरकार दुवैतर्फको काम राम्रोसँग हुन पाउँदैन ।”
कार्यबहाक सभापति कसलाई दिने भन्ने निर्णय भने सभापति कोइराला आफैंले गर्नुपर्ने वा केन्द्रीय समितिमा छलफल गर्न सकिने उनले बताए ।
यसपटकको संविधानसभामा नेपाली कांग्रेसका २५ जिल्लाका सभापति सभासद बनेको भन्दै उनले भने, “ति जिल्लाहरुमा समेत सभापतिले कार्यबहाक सभापति दिनुपर्छ ।”
सरकारको काम सुशासन र संविधान निर्माणको वातावरण बनाउनु भएको भन्दै कोइरालाले सुशासनका लागी स्थानीय निकायको निर्वाचन अनिवार्य रहेको धारणा व्यक्त गरे ।
एमाओवादी र मधेशवादी दलहरुले पराजयको डरले स्थानीय निर्वाचन नचाहेको आरोप लगाउँदै कोइरालाले भने, “जनतासँग डराउनेहरुले कांग्रेस र एमालेलाई संघीयताविरोधी भन्नु निर्वाचन हुन नदिने षडयन्त्रमात्रै हो ।”
एक अर्को प्रसंगमा नेता कोईरालाले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित गर्नुअघि पर्याप्त छलफल नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।
युवराज श्रेष्ठ, लमजुङ
