समाचारशनिबार, बैशाख २०, २०७१

अब पत्रकारले कार चढ्ने दिन आउँछः प्रधानमन्त्री

हिमालखबर

तस्वीर: देवकी बिष्ट

२० वैशाखदेखि काठमाडौंमा शुरु भएको नेपाल पत्रकार महासङ्घको २४औँ महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले ठूला परिवर्तनका संवाहक पत्रकारहरुको हित र पेसागत सुरक्षाका लागि सरकार सचेत रहेको बताएका छन् ।

राजनीतिक स्थायित्व कायम भई मुलुक समृद्धितर्फ उन्मुख भएपछि १५/२० वर्ष काम गरेका प्रत्येक पत्रकार कार चढ्न सक्ने हैसियतमा पुग्ने भन्दै कोइरालाले थपे, “म आफू पनि तपाईंहरुकै हुलबाट आएको हुँ, तपाईंहरुका माग र समस्या राम्रोसँग बुभ्mदछु ।”

सरकारले केही गर्न सकेन भनेर समाचार प्रवाह गर्ने पत्रकार जगतले कोरेको मार्गमा आफू हिँड्न तयार रहेको भन्दै कोइरालाले संयुक्त सरकार भएकाले सबैलाई मिलाउँदै गर्दा अपेक्षाअनुरुप काम हुन नसकेको बताए । उनले भने, “तपाईंलाई सहमतिका आधारमा नेतृत्व चयन गर्न कत्तिको गाह्रो परिरहेको छ, तपाईंहरुले यसमा सहमति गरेर देखाउनुस्, होइन भने सरकारका प्रत्येक क्रियाकलापलाई नकारात्मक ढङ्गलेमात्र सन्देश प्रवाह नगर्नुहोस् ।”

मुलुकभरबाट राजधानीमा भेला भएका पत्रकारले घर फर्कंदा जनतालाई आशा र उत्साह दिने सकारात्मक सन्देश लिएर जान सुझाव दिँदै प्रधानमन्त्री कोइरालाले लामो समयसम्म श्रमजीवी, मानवअधिकार र स्वतन्त्रताका लागि लडेका राजनीतिक दललाई नै अप्ठेरो पार्ने हिसाबले कसैको उक्साहटमा परेर बन्द, हडताल र अनशन बस्नेजस्ता काम नगर्न आग्रह गरे ।

उनले शान्ति प्रक्रिया टुङ्गिनु, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक परित हुनु, संविधानसभा मातहतका समितिको गठन हुनु, संविधान लेखनको कार्यतालिका पारित हुनुले ढिलो भए पनि सरकारको काम सन्तोषजनक रहेको दाबी गरे ।

२१ वैशाखसम्म जारी रहने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महासङ्घले विश्व प्रेस स्वतन्त्र दिवस तथा अधिवेशनको अवसर पारेर आजै बिहान प्रभात फेरीको आयोजना गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>