समाचारआइतबार, बैशाख २१, २०७१
बम विष्फोटका नाइके भनिएका सभासद् सञ्जय साह पक्राउ
इश्वरचन्द्र झा, जनकपुर
१८ वैशाख २०६९ मा नेपालको सङ्घीय संरचनामा मिथिला राज्य स्थापनाको माग गर्दै जनकपुरको रामानन्दचोकमा शान्तिपूर्ण धर्नामा बसेका व्यक्तिहरुमाथि बम प्रहार गर्न लगाउने मुख्य अभियुक्त सभासद् सञ्जय साहलाई प्रहरीले नेपाल–भारत सीमाबाट पक्राउ गरेको छ ।
सदभावना पार्टीका उपाध्यक्ष समेत रहेका साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ल प्रहरी कार्यालय धनुषाको टोलीले वीरगञ्ज नजिकै छपकैयाबाट पक्राउ गरेको हो ।
साहलाई २१ वैशाखमा धनुषामा सार्वजनिक गर्दै सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक गौतम कार्कीले साह नै विष्फोटको मुख्य योजनाकार रहेको सबूत प्रमाणहरु यथेष्ट रहेकोले अदालतबाट उनले सजाय पाउनेमा आफू आशावादी रहेको बताए ।
सभासद साहले भने आफू निर्दोष रहेको र अदालतबाट न्याय पाउने बताएका थिए ।
घटनाका अन्य ६ जना अभियुक्तहरु राजन मुक्ति भनिने रञ्जित कुमार झा, मुकेश चौधरी, सुरेश कुमार कर्ण, रिपेन्द्र झा र मुकेश कुमार कर्ण यसअघि नै पक्राउ परिसकेका छन् ।
भारत र नेपालतर्फ लुक्दै बस्दै आएका साहलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको कार्कीले बताए ।
जनकपुर बमकाण्डमा संलग्न भएको अभियोगमा अदालतबाट वारेन्ट जारी भएपछि सिआईबीसहितको प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो । रामानन्द चोकमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

