समाचारमंगलबार, बैशाख २३, २०७१

पतिले दाइजो माग्दै गर्भवती पत्नी जलाए

हिमालखबर

दाइजोको निहुँमा पतिले आगो लगाएकी रिहान अस्पतालमा । तस्वीर: तुफान न्यौपाने

बाँके लक्ष्मणपुर–८ मिपुरवाकी २२ वर्षीया रिहाना बानोलाई उनका पति फरिद शेषले दाइजोको निहुँमा ३ चैतमा घरमै बसिरहेका बेला कम्मर भन्दा तलको भागमा मटिट्तेल छर्केर आगो लगाएको बानोले बताएकी छन् ।

चैतमा रिहानाको गर्भमा ८ महिनाको शिशु थियो । आगलागीपछि पतिले नै उपचारका लागि भारतको बहराइच लगेका थिए । त्यहाँ सामान्य मल्हमपट्टी गरेर घर ल्याइए पनि निको नभएपछि उनलाई थप उपचारका लागि भेरी अञ्चल अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा अस्पतालमै सुत्केरी भएकी उनको नवजात शिशु पनि बाँच्न सकेन ।

उनको कम्मर भन्दा तलतिरको ३३ प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगञ्जले जानकारी दिएको छ । करिब दुई सातासम्म अस्पतालमा उपचार गराइए पनि निको नभएपछि थप उपचारका लागि उनलाई २२ वैशाखमा काठमाडौं वीर अस्पतालमा पठाइएको छ ।

उपचारका लागि आर्थिक सहयोग जुटाउन माइती पक्षले अधिकारकर्मी गुहारेपछि घटनासार्वजनिक भएको हो ।

“मोटरसाइकल र भैंसी दाइजो माग्दै धेरै पहिलाबाट दुःख दिँदै आएका थिए,” उपचारका लागि काठमाडौं लैजानु अघि नेपालगञ्जमा रिहानाले भनिन, “३ चैत मा दुवै हातलाई पछाडीपट्टी बाँधेर शरीरमा मटिट्तेल छर्केर आगो लगाइदिए ।”

रिहानाकी आमा नसिद शेष बानोले घटना बाहिर आउने डरले पहिले बहराइचमा उपचार गराउन लगेको आरोप लगाउँदै राम्रो उपचार नपाएपछि आफूले भेरी अञ्चल अस्पतालमा ल्याएको बताइन् ।

रिहानाका माइती पक्षले फरिदबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्तापछि कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव निरीक्षक प्रेम बस्नेतले जानकारी दिए ।

उनले घटनाको अनुसन्धान भइरहेको बताए पनि आरोपित व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् ।

रिहानाका माइती पक्षले फरिदका परिवारले केही दलका नेताको आडमा घटनालाई लुकाउन खोजेको आरोप लगाएका छन् । रिहानाकी आमा नसिदले भनिन,“टुकीबाट सल्किएर आगो लागेको हो भन्ने बनाउन खोजिरहेका छन् ।”
उनले दोषीलाई कडा कारवाही गर्न माग गरेकी छन् ।

भेरी अञ्चल अस्पताल प्रमुख डा. पिताम्बर सुवेदीले रिहानाको समस्या जटिल भएकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको जानकारी दिए ।
तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>