समाचारमंगलबार, बैशाख २३, २०७१

लोकतन्त्र अझै सङ्कटमाः प्रमुख निर्वाचन आयुक्त

हिमालखबर

२३ वैशाखमा आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मुलुकमा पटक पटक भएका जनआन्दोलमार्फत स्थापना गरिएको लोकतन्त्रले अझ पनि विश्वासको सङ्कटमा बाँच्नु परिरहेको बताएका छन् ।

जियोकले तयार पारेको संविधानसभा निर्वाचन, २०७० को पर्यवेक्षणसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख आयुक्त उप्रेतीले नौ वर्षयता संसद् तथा ११ वर्षदेखि स्थानीय निकायको निर्वाचन नगर्दा पनि राजनीतिक दलले लोकतन्त्रको गीत गाउन नछाडेको भन्दै दलहरुप्रति व्यङ्ग्य गरे ।

आवधिक निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा ठूलो बलिदानीका साथ स्थापित लोकतन्त्र विश्वासको सङ्कटमा बाँचेको भन्दै उप्रेतीले आगामी ८ असारमा हुने संविधानसभाको उपनिर्वाचनपछि स्थानीय निकायको निर्वाचन गराउन राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान लेखनको क्रममा दलबीच सहमतिका सन्दर्भमा कहीँ कतै अप्ठेरो आए जनमतसङ्ग्रह गराउनु परे पनि आयोग तयार रहेको जानकारी गराए ।

कार्यक्रममा नेपालका लागि नर्वेली राजदूत के टर्माेड पिटर्सनले लोकतन्त्रका आधारभूत मूल्यमान्यताभित्र रहेर निर्वाचन आयोगले संविधानसभाको निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराएको बताएका थिए ।

आयोजक संस्था जियोकका अध्यक्ष हिमालयशम्शेर राणाले मतदाताको अत्यन्तै उत्साहपूर्ण सहभागितामा समग्रमा निर्वाचन स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>