समाचारबिहीबार, बैशाख २५, २०७१

राप्रपा नेपालले पार्टीको नाम र राजतन्त्रको लाइन परिवर्तन गर्ने

हिमालखबर

आगामी १० जेठमा हुने महाधिवेशनमा राजतन्त्रको लाइनमा परिवर्तन गर्ने र पार्टीको नाम फेर्ने तयारीमा राप्रपा नेपाल जुटेको आजको कान्तिपुरमा समाचार प्रकाशित भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नाम जुध्दा सर्वसाधारणमा भ्रम पैदा भएको, संवैधानिक राजसंस्थाको लाइनले बौद्धिक व्यक्तिहरु पार्टीमा खुलेर लाग्न नखोजेको भन्दै नाम र राजसंस्थाको लाइन परिवर्तन गरिने भएको हो ।

“प्रतिवेदन लेख्ने काम भइरहेको छ । हामी छिट्टै त्यसलाई अन्तिम रूप दिई महाधिवेशनमा लैजान्छौं,” पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङले भने ।

महाधिवेशनमा पार्टीले लिने कार्यदिशा तय गर्न अध्यक्ष कमल थापाको नेतृत्वमा ३८ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन समिति गठन भएको छ ।

राष्ट्रियता र दिगो विकासका लागि राजतन्त्रको मोडलमा छलफल गरी संवैधानिक राजतन्त्रको सट्टा आलंकारिक राजतन्त्रमा जान सकिने गुरुङको भनाई छ ।

पार्टीका केही नेताले सांस्कृतिक राजाको पनि प्रस्ताव गरेका छन् भने केही नेताहरुमा संवैधानिक राजतन्त्रनै राख्नुपर्ने अडान पनि छ ।

पार्टी सहअध्यक्ष पद्मसुन्दर लावतीको नेतृत्वमा केही सदस्यले संवैधानिक राजतन्त्रलाई पार्टीले छाड्न नहुने प्रस्ताव राखे पनि बहुमतले त्यसलाई अस्वीकार गरेको स्रोतको दाबी छ ।

संविधानसभा निर्वाचनका बेला हिन्दु राष्ट्रको नाराका कारण मत आएको तर, संवैधानिक राजतन्त्रलाई भने जनताले त्यती नरुचाएको राप्रपाका अधिकांश नेताहरुको निष्कर्ष छ ।

अन्य दलका नेता कार्यकर्ताहरुलाई समेत आकर्षित गर्ने गरी उपयुक्त नाम राख्ने तयारी भइरहेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>