समाचारशुक्रबार, बैशाख २६, २०७१

विराटनगरका बिरामी ठग

हिमालखबर

– कमल रिमाल, विराटनगर

११ वैशाखमा दलाल मार्फत विराटनगरस्थित अस्पताल चोकको ममता हेल्थ केयर सेन्टर पुगेर यो संवाददाताले रगत परीक्षण गराउँदा इन्फेक्सन भएको रिपोर्ट आयो। ल्याब असिस्टेन्ट सुनिल साहले दिएको रिपोर्टमा रगतको ‘डब्लुबीसी काउन्ट’ १३ हजार ५०० थियो (रातो घेरामा)। क्लिनिकमा रहेका डा. अजयकुमार यादवले लेखे अनुसार पसले पुरुषोत्तम मण्डलले पाँच प्रकारका एन्डिबायोटिक औषधि दिए।

कोशी अञ्चल अस्पताल र ममता क्लिनिकले दिएको रगत जाँचको फरक–फरक रिपोर्ट।

तर, तत्कालै कोशी अञ्चल अस्पतालमा सोही परीक्षण गराउँदा प्रयोगशालाका सहायक प्रमुख मुनहरलाल यादवले डब्लुबीसी स्वस्थ मानिसलाई चाहिने ६ हजार मात्रै देखियो(पहेंलो घेरामा)। क्लिनिकले ब्लड सुगर १२० देखाएकोमा अस्पतालमा ८९ देखियो। सो तथ्य थाहा पाएपछि क्लिनिक संचालकले समाचार सार्वजनिक नगर्न आग्रह गर्दै रकम दिने प्रस्ताव पनि पठाए।

दुवै रिपोर्टबारे सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेललाई जानकारी गराएपछि उनले १५ वैशाखमा प्रतिनिधि पठाएर अनुगमन गर्न लगाए। अनुगमन टोलीले मागेको कागजात दिन नसकेपछि पसले मण्डललाई १६ वैशाखमा उनले क्लिनिक, ल्याब, औषधि पसल र एक्सरे संचालनको अनुमतिपत्र नबनाउँदासम्म बन्द गर्न निर्देशन दिए।

कारबाही फितलो

१७ वर्षदेखि औषधि व्यवसाय गर्दै आएकाले सम्पूर्ण कागजात भएको अनुगमन टोलीसँग बताउने पसले मण्डलले सहायक प्रजिअ लुईंटेलसँग नगरपालिकाबाट व्यावसायिक प्रमाणपत्र तथा औषधि व्यवसायी संघबाट इजाजतपत्र मात्रै लिएको स्वीकारे। उनले इजाजत नलिएका क्लिनिकहरू विराटनगरमा अरू पनि रहेको जानकारी दिए। तर, त्यति थाहा पाएर पनि सहायक प्रजिअ लुईंटेलले मण्डललाई कागज मात्र गराएर छाडे।

ममता हेल्थ केयर क्लिनिकमा १५ वैशाखमा कागजात हेर्दै प्रशासन र जनस्वास्थ्यका कर्मचारी।

यद्यपि, पहिलो पटक भएकाले चेतावनी दिइएको र इजाजत नलिई क्लिनिक संचालन गरे ताला लगाइदिने लुईंटेलको भनाइ छ। तर, त्यसैगरी संचालित अस्पताल आसपासका पशुपति प्याथोलोजी, स्वस्तिक प्याथोलोजी, पवित्र मेडिकल, प्रगति क्लिनिक, स्नेहा क्लिनिक, नेशनल क्लिनिक, जनसेवा उपचार केन्द्र, ओम साई क्लिनिकलाई केही कारबाही भएको देखिंदैन। पूर्वी पहाडका विभिन्न स्थानबाट उपचारका लागि विराटनगर अस्पताल आएका बिरामीलाई अन्यत्र लगेर ठग्ने तीन जना रिक्सा चालक र तीन जना सहयोगीलाई पनि मोरङ प्रहरीले १० वैशाखमा पक्राउ गरेलगत्तै छाडेको थियो।

प्रहरी उपरीक्षक विश्वराज पोखरेल भने उनीहरूमाथिको आरोप प्रमाणित नहुने भएकाले छाडिएको बताउँछन्। जबकि, तेह्रथुमकी देवी भण्डारीले रिक्सा चालकले राम्रो चिकित्सककोमा पुर्‍याउने भन्दै क्लिनिकमा रु.१२ हजार ठगेको निवेदन १० वैशाखमै दिएकी थिइन्। भण्डारीको जाहेरीपछि विराटनगर ९ जलजला रोडका पवित्र मेडिकल हलका संचालक राजु साहले सो रकम फिर्ता पनि गरेका थिए।

क्लिनिकका चिकित्सक आर.के. सिंहले दिएको औषधिले पेट दुख्न नछाडेपछि कोशी अञ्चल अस्पताल पुग्दा ठगिएको थाहा पाएको पीडित भण्डारीले बताइन्। क्लिनिकबाट रकम फिर्ता पाएपछि उनी तेह्रथुम फर्किएकी छिन्।

दलालको बिगबिगी

दलालहरूको ठगी बढेपछि जलजला रोडको ग्रीन क्रस अस्पतालले गेट बाहिर ‘दलालबाट सावधान’ लेखिएको बोर्ड राखेको छ। तर पनि बिरामी ठगिने क्रम जारी छ।

उदयपुरका वृद्ध लक्ष्मीध्वज मगर १६ वैशाखमा क्षयरोग केन्द्र नभई रिक्सा चालकले क्लिनिकमा पुर्‍याएपछि

उदयपुर कटारीका लक्ष्मीध्वज मगर (७५) लाई मुखबाट रगत आउन थालेपछि त्यहाँको स्वास्थ्य चौकीको सिफारिश लिएर छोरा दिलकुमारले इटहरीको सामुदायिक अस्पताल ल्याए। अस्पतालले क्षयरोग नियन्त्रण केन्द्र, विराटनगर पठायो। १६ वैशाखमा विराटनगर आएका बाबुछोरालाई रिक्सा चालकले सरकारी अस्पतालका डाक्टर यहीं बस्छन् भन्दै स्वस्तिक क्लिनिक पुर्‍याइदियो।

दिलकुमार त्यहाँ कोशी अस्पतालका डा. प्रमोदकुमार रायको नाम देखेर परीक्षण गराएको बताउँछन्। अस्पतालमा निःशुल्क गरिने क्षयरोग परीक्षणका लागि उनले त्यहाँ रु.२२०० बुझाइसकेका छन्। दिलकुमारका अनुसार क्लिनिकले थप शुल्क लाग्ने बताएको छ।

यो संवाददाताले ममता हेल्थ क्लिनिकमा तिरेको रु.३००० बाट शिवा नामका दलालले कमिशन पाएका थिए भने तेह्रथुमकी भण्डारीले तिरेको रकमबाट पनि रिक्सा चालकले कमिशन लिएका थिए। दलालहरूलाई क्लिनिकले एक जना बिरामी बराबर रु.१००० सम्म कमिशन दिने गरेको छ।

जिल्ला प्रहरीमा जाहेरी दिन गएकी पीडित देवी भण्डारी।

परीक्षणका लागि निकालिएको रगत धेरै क्लिनिकले जाँच नगरेर फाल्ने गरेको ओम साई क्लिनिकका संचालक दीपक साह बताउँछन्। एक जना बिरामी लग्नेलाई रु.१००० र दुई जना लैजानेलाई रु.२५०० कमिशन दिइने हुनाले दलालहरू दुई जना बिरामी पुर्‍याउन लाग्ने गरेको उनको भनाइ छ। तर, आफूले चले अनुसार कमिशन दिन नसकेकाले थोरै बिरामी आउने गरेको उनी बताउँछन्।

बिरामी खोज्ने एक दलालका अनुसार, अस्पताल चोकमा शिवा, मुसहरू, मो. कलाम र सुभाष नामका दलाल बस्छन् भने दिलीप, भूपू, दीपक, रमेश, सीताराम, मो. फुल, मेहता, अर्जुन, झ्रिलाल, रामा, सम्पत, गंगा, राहुल, प्रकाश, बाबा, रञ्जित रिक्साचालक दलाल हुन्।

त्यसरी ठग्ने दलाल विरुद्ध प्रहरीमा उजुरी परे पनि सार्वजनिक मुद्दा चलाइने भएकाले उनीहरू छिट्टै छुट्छन्। ठगीकोे परिभाषाभित्र पर्ने गरी जाहेरी नपरेकाले सार्वजनिक मुद्दामा कारबाही हुने गरेको प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ।

डाक्टर पनि संलग्न

ठगहरूले संचालन गरेका क्लिनिकहरूमा बिरामी जाँच्न आउने चिकित्सकहरूको नियत पनि ठीक देखिंदैन। वीर अस्पतालमा अभ्यास गरेका डा. अजयकुमार साहको नाम अस्पताल चोकका ६ वटा क्लिनिकमा देखिन्छ। अञ्चल अस्पतालका मेडिकल अफिसर डा. प्रमोदकुमार राय पनि अस्पतालको ड्युटी सकिनासाथ स्वस्तिक क्लिनिक पुग्छन्।

दलाललाई सावधान र बिरामीलाई सचेत गराउन ग्रीन क्रस अस्पतालले सडकमा राखेको बोर्ड। तस्वीरहरुः कमल रिमाल

विशेषज्ञता हासिल नगरेका दुवैले बिरामी जाँच्ने क्लिनिकमा नसा, हाडजोर्नी, पत्थरी, यौन रोग, गुप्त रोग, स्त्री रोग, बाल रोग, टाउको लगायतको उपचार हुने लेखिएको छ। स्वस्तिकका संचालक कन्हैया साह त्यति नलेखे बिरामीले विश्वास नगर्ने बताउँछन्। यादव बस्ने ममता क्लिनिकका संचालक मण्डल लेखिए जति सबै रोगको उपचार गरिने दाबी गर्छन्। अर्का चिकित्सक फैज अहमदको नाम दुई वटा क्लिनिकमा फरक लेखिएको छ।

होमियोप्याथिक चिकित्सक प्रफुल्लकुमार शर्माले बिरामी ठगेको भन्दै पीडितका आफन्तबाट धेरै पटक कुटाइ खाएपछि नाम फेरेर पीके शर्माको बोर्ड टाँगेका छन्। अर्का डा. अभयकुमार ठाकुरले धेरै पटक पक्राउ परेपछि विराटनगर छाडेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा डाक्टरहरूले ठगी गरेको थाहा भए पनि उजुरी नपरेकाले कारबाहीको सिफारिश गर्न नसकिएको बताउँछन्।

नेपाल चिकित्सक संघ कोशीका महासचिव डा. फरवाड सिलवालले चिकित्सकले गलत उपचार गरेको प्रमाणित भए मेडिकल काउन्सिलले चिकित्सक प्रमाणपत्र नै खारेज गर्नेसम्मको कारबाही गर्ने बताए। उनका अनुसार, पहाडी जिल्लाका स्वास्थ्य संस्थाहरूले सिफारिश गरेका चिकित्सक बाहेक अरूलाई नजँचाउन बिरामीलाई भनिदिएमा ठगी केही रोकिन सक्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>