समाचारशुक्रबार, बैशाख २६, २०७१
अनशनरत अधिकारीको स्वास्थ्य अवस्था नाजुक
यसअघि पत्नी गंगामायाको तुलनामा स्वस्थ्य देखिने नन्दप्रसादको स्वास्थ्य अहिले बढी बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
नन्दप्रसादको जीवन रक्षाका लागि घाँटी नेरको नशाबाट दिंइदै आएको पोसिलो झोल पनि त्यहाँ इन्फेक्सन भएपछि बन्द गरिएको छ भने सलाइन दिनका लागि सुई रोप्दा रोप्दा दुवै हात सुन्निएको र कतिपय ठाउँमा घाउ पाकेको छ ।
अधिकारीको नशामा भएको संक्रमण फैलिएर रगतसम्म पुग्न गई सेप्टिसेमिया (रगतमा हुने संक्रमण) हुन सक्ने साथै ‘अर्गान फेलियर’ भई ज्यानमा समेत खतरा रहेको चिकित्सकले बताए ।
गंगामाया–नन्दप्रसाद अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्तविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भई प्रक्रिया अघि बढे पनि अदालतले अभियुक्तहरुलाई धरौटीमा रिहा गरेको छ । अधिकारी दम्पती भने छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमै छन् ।
फुजेल मुद्दा र आयोग
द्वन्द्वकालका घटनाहरु सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले हेर्ने गरी आयोग गठनका लागि संसदबाट विधेयक पारित भइसकेको छ ।
तर अधिवक्ता हरि फुयाँल त्यससम्बन्धी ऐनमा उल्लेखित ‘कुनै निकायमा चलिरहेका मुद्दा सम्बन्धित निकायको सहमतिमा झिकाई आयोगले छानविन गर्न सक्नेछ’ भन्ने वाक्यांशले अदालतमा चलिरहेको मुद्दाको फाइल झिकाई छानविन गर्न सक्ने भए पनि निर्णय गर्ने अधिकार भने आयोगमा नरहेको बताउँछन् ।
उनका अनुसार आयोगले फाइल झिकाई छानविनको प्रक्रिया शुरु गरेको खण्डमा भने मुद्दा प्रक्रिया रोकिन सक्छ ।
त्यसैगरी अदालतले थुनामा राख्न आदेश दिइसकेका अभियुक्तहरुलाई पनि अब बन्ने आयोगले छुटाउन नसक्ने अधिवक्ता फुयाँलले बताए ।
अदालतमा विचाराधिन मुद्दाको टुंगो लाग्न लामो समय लाग्ने र अनशन नतोड्ने अडानले अधिकारी दम्पतीको स्वास्थ्य झन् नाजुक बन्दै गएको छ ।
