समाचारशनिबार, बैशाख २७, २०७१
आन्दोलन फिर्ता लिएर वार्तामा आउनोस्ः मन्त्री आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आचार्यले वार्तामा आएर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । रिपोर्टर्स क्लबले २७ बैशाखमा गरेको कार्यक्रममा उनले वार्ताका लागि पर्यटन व्यवसायीले आन्दोलन फिर्ता लिनुपर्ने बताए ।
“पर्यटन व्यवसायीले अहिले चलाइरहेको आन्दोलन तत्काल स्थगित गर्नुपर्छ,” उनले भने, “आन्दोलन फिर्ता लिएपछि वार्ता हुन्छ ।” उनले आन्दोलनबाट आफू नडराउने, बरु आफ्नो काम नरोक्ने चेतावनी दिए ।
व्यवसायीका माग आफूले पुरा गरेको भन्दै उनले छैठौं राष्ट्रिय पर्यटन मेला स्थगित गरिसकेको र सरकारले हदैसम्मको लचकता देखाइसकेको बताए । “व्यवसायीले पनि सरकारसँग गरेका प्रतिबद्धता पुरा गर्नुपर्छ, अनि वार्ताको वातावरण बन्छ,” उनले भने ।

