थप समाचारआइतबार, बैशाख २८, २०७१
एमाओवादीसँग एकता संभवः चन्द
नेकपा–माओवादीका सचिव चन्दले आफूहरुले अघि सारेका ६ बुँदे प्रस्ताव स्वीकार गरे एमाओवादीसँग पार्टी एकता संभव भएको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले २८ बैशाख बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आफूहरु सबै कम्यूनिष्ट एकताको पक्षमा रहेको पनि बताए ।
“माओवाद विचार मान्नेसँग एकता गर्न कुनै समस्या छैन,” उनले भने । एमाओवादीको विराटनगर सम्मेलनले गल्ती स्वीकारेर दस्तावेज ल्याउनु सकारात्मक भएको उनले टिप्पणी गरे ।
उनले आफूहरुलाई बाइपास गरेर जान खोजिए समानान्तर शक्ति निर्माण गर्ने चेतावनी दिए । “सहमतिको साटो पेलेर जान खोजे निष्क्रिय पारिएका समानान्तर शक्ति फेरि सक्रिय पार्छौं,” उनले भने, “चाहे त्यो सत्ता, चाहे कानुन, चाहे प्रशासन हामी बाध्य भएर सक्रिय बनाउनुपर्ने हुन्छ ।”
उनले आफूहरु सहमतिबाटै अघि बढ्न तयार रहेको पनि बताए । आफूहरुलाई पेलेर जारी भएको संविधान मान्य नहुने उनको भनाइ छ । “आफैले बन्दुक र सेना बनाउने पक्षमा अहिले हामी छैंनौं,” उनले भने, “जनताका अधिकार सम्पन्न गराउन नदिने षड्यन्त्र भए हामी जस्तो सुकै बलिदान गर्न तयार छौं ।”
प्रेमनारायण आचार्य, अर्घाखाँची
