समाचारआइतबार, बैशाख २८, २०७१
एमाओवादी संविधान निर्माण प्रक्रिया बिरोधी होइनः दाहाल
एमाओवादी अध्यक्ष दाहालले आफूहरु संविधान निर्माण प्रक्रिया बिरोधी नभएको बताएका छन् । कोटेश्वरस्थित पार्टी कार्यालयमा २८ बैशाखमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताए ।
उनले भने, “शान्ति प्रक्रियाको एउटा पक्षका हैसियतले संविधान निर्माण प्रक्रिया हाम्रो पार्टीको महत्वपूर्ण एजेन्डा हो ।” उनले एमाओवादीलाई संविधान निर्माण प्रक्रियाको अवरोधका रुपमा चित्रण गर्न खोजिएकामा भने आपत्ति जनाउँदै उनले भने, “त्यस्तो प्रचार गर्नेहरुले मुलुकको आवश्यकता र चाहनालाई आत्मसाथ गर्न सक्दैनन्।”
आफ्नो पार्टीमा कुनै पनि वैचारिक तथा सैद्धान्तिक विवाद नरहेको जिकिर गर्दै उनले राष्ट्रिय सम्मेलनले अगाडि सारेको नीति तथा कार्यक्रम सबैको सहमतिमा एकमतले पारित गरेको दाबी गरे । तर, उनले बाबुराम भट्टराईले केन्द्रीय समितिमा नबस्ने घोषणा गर्दा आफू आश्चर्यमा परेको उल्लेख गरे ।
उनले भने, “बाबुराम जीले त्यस्तो निर्णय गर्नुहोला भन्ने लागेको थिएन, तर त्यस्तो भइहाल्यो, आगामी दिनमा उहाँको भावनालाई समेटेर केन्द्रीय समिति विस्तार गर्ने र समेटेर लैजान प्रतिबद्ध छु ।”
राजनीतिक तथा सैद्धान्तिक रुपमा पार्टीमा विवाद नभएका कारण पछिल्लो दिनमा देखिएको विवाद समाधान हुनेमा आशावादी रहेको उनको भनाइ छ । उनले मुलुकको आवश्यकता र जनताको चाहना पनि कम्युनिस्ट पार्टी र घटकको बीचमा एकताको जरुरी रहेको बताए ।
रासस
