समाचारसोमबार, बैशाख २९, २०७१
राजतन्त्र र हिन्दु राज्यबारे सम्झौता गर्न सक्छौंः थापा
राप्रपा नेपालका अध्यक्ष थापाले संविधान निर्माणका लागि संवैधानिक राजतन्त्र र हिन्दु राज्यको विषयमा सम्झौता गरेर पनि अघि बढ्ने बताएका हुन् । रिपोर्टर्स क्लबले २९ बैशाखमा गरेको कार्यक्रममा उनले आफूले उठाउँदै आएको राजतन्त्र र हिन्दु राज्यको विषयमा सम्झौता गरेर भए पनि संविधान निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
एनले आगामी महाधिवेशनमा पार्टीले अख्तियार गर्दै आएको संवैधानिक राजतन्त्र र सनातन हिन्दु राज्यको विषयमा टुंगो लगाउने बताए । “संविधानसभाभित्र हाम्रो उपस्थिति प्रभावशाली नभएकाले राजतन्त्र र हिन्दु राज्यको विषयमा सम्झौता हुन सक्छ,” उनले भने, “हाम्रै मात्र कुरा गरेर हुनेवाला छैन ।”
पार्टीको नाम परिवर्तन
उनले आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने पनि जानकारी दिए । आगामी १० जेठदेखि शुरु हुने पहिलो केन्द्रीय महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्ने उनको भनाइ छ ।
“नयाँ र फरक विचार हुँदाहुँदै पनि राप्रपा नेपाल राप्रपाबाट फुटेर बनेको पार्टी जस्तो देखियो,” उनले भने, “पुरानो राप्रपा जहाँको त्यही छ, हामी नयाँ शक्तिको रुपमा अघि बढीसकेका छौं, त्यसैले अब पुरानो नाम पक्रेर बस्नुको औचित्य छैन, महाधिवेशनको प्रमुख एजेण्डा नै नाम परिवर्तन हो ।”

