थप समाचारसोमबार, बैशाख २९, २०७१

आमाबाबुले नै विवाहित छोरीको गर्भ तुहाए

हिमालखबर

श्रवणकुमार देव, राजविराज

हरेक आमाबाबुलाई आफ्ना सन्तानको पनि सन्तान होस् भन्ने चाहना हुन्छ । आफू जीवित छँदै सन्तानको पनि सन्तान हेर्ने चाहना अधिकांश अभिभावकको हुन्छ । तर, सप्तरीका एक अभिभावकले भने आफ्नी छोरीको गर्भ समेत तुहाइदिएको आरोप लागेको छ ।

२ मंसीर २०७० मा प्रकाश र उर्वशीबीच विवाहपछि खिचिएको तस्वीर ।

राजविराज–७ निवासी शैलेन्द्रमोहन झा र उनकी पत्नी करुणाले छोरी उर्वशीको गर्भलाई तुहाएको दाबी ज्वाईं प्रकाश ठाकुरले गरेका हुन् । भारतको दिल्लीमा बस्दै आएकी आफ्नी पत्नी उर्वशीलाई काठमाडौं ल्याएर सासुससुराले जबर्जस्ती गर्भ तुहाइदिएको उर्वशीका पति प्रकाशले बताए । “विवाह गरेर हामी दिल्लीमै बसिरहेका थियौं”, २९ बैशाखमा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रकाशले भने, “गर्भवती छोरीलाई केही दिन आफूसँग राख्ने भन्दै सासुससुराले जहाजमा काठमाडौं ल्याए र त्यहीँ नै गर्भ तुहाए ।”

प्रकाशका अनुसार उर्वशी चार महीनाकी गर्भवती थिइन् । दिल्लीमा बसेर दुबै पति–पत्नी जागिर गरिरहेको जानकारी दिँदै प्रकाशले भने, “गर्भ तुहाउँदै पत्नी उर्वशीको ज्यान समेत लिने प्रयास उनीहरुबाट भएको छ ।”

प्रकाशका अनुसार सासुससुराले उर्वशीलाई ११ बैशाखमा दिल्लीबाट काठमाडौं ल्याएका हुन् । उर्वशीलाई अहिले पनि सासुससुराले नै राखिरहेका छन् । आफ्नी श्रीमतिसँग पनि सासुससुराले भेट्न नदिएको प्रकाशले बताए ।

उर्वशीको दोस्रो विहे

उर्वशी र प्रकाश विद्यालय तहदेखि नै एकअर्कालाई मन पराउँथे । उर्वशीको परिवारले बलजफ्ती सुनसरीको इनरुवा नगरपालिका–१ निवासी प्रफुल्ल झासँग केही वर्ष अगाडि उनको विवाह गरिदिएका थिए । विवाह भए पनि उर्वशीले प्रकाशलाई नै मन पराइरहेका थिए ।

उर्वशीको विवाहपछि प्रकाश भारतको दिल्लीमा अध्ययन गर्न गएका थिए । तर, दिल्लीमै पढ्न पुगेकी उर्वशीसँग उनको फेरि भेट भयो र दुवै त्यहीँ सँगै रहन थालेका थिए । यो खबर पाएपछि उर्वशीको परिवारले उनलाई राजविराज फिर्ता बोलाए । उर्वशीलाई ल्याएपछि प्रकाश पनि राजविराज आए र २ मंसीर २०७० मा दुवैले विराटनगरको एक मन्दिरमा विवाह गरे । पहिलो श्रीमान् प्रफुल्लसँग सम्बन्ध विच्छेद गर्न सप्तरी जिल्ला अदालतमा २०७० कात्तिकमा उर्वशीले निवेदन दिएकी थिइन् ।

यद्यपी पत्रकार सम्मेलनमा उपस्थित कानुन व्यवसायी एवं मानवअधिकार तथा जनवकालत केन्द्र (हुपेक) का अध्यक्ष धर्मेन्द्र यादवले महिलाले दोस्रो विवाह गर्ने बित्तिकै श्रीमान्सँग स्वतः सम्बन्ध विच्छेद ठहर्ने कानुन रहेको बताए । उनका अनुसार मुलुकी ऐनको लोग्ने स्वास्नी महलको २ नम्बरमा स्वास्नीले अर्काेसँग विवाह गरेमा त्यस्तो स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने उल्लेख छ ।

यसैकारण पनि उर्वशी अब प्रफुल्लको नभई प्रकाशको पत्नी भएको उनले बताए । यादवले प्रकाशलाई न्याय दिलाउन आफू तथा आफ्नो संस्थाले पूरा सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>