समाचारमंगलबार, बैशाख ३०, २०७१
दाहालभन्दा वैद्यसँग नजिकः भट्टराई
एमाओवादी नेता भट्टराईले एकलौटी ढंगबाट पार्टी चलाउने अध्यक्ष दाहालको कार्यशैलीका कारण मोहन वैद्यसँग नजिक रहेको बताएका हुन् । साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्किएपछि ३० बैशाखमा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले अध्यक्ष दाहालले एकलौटी ढंगबाट पार्टी चलाउन खोजेको आरोप लगाए ।
केही वर्ष अघि धोबिघाट गठबन्धनको स्मरण गर्दै उनले भने, “दाहालको कार्यशैलीका विरुद्ध तत्कालिन एमाओवादी उपाध्यक्ष मोहन वैद्यसँग नजिक भएको हो ।” संगठन सुदृढीकरणका लागि धोबिघाट गठबन्धन ठीक भएको उनको भनाइ छ ।
उनले एकलौटी ढंगबाट पार्टी चलाउने र आफ्ना मान्छेलाई मात्र अवसर दिने प्रवृत्ति अध्यक्ष दाहालले दोहोर्याएकाले विराटनगर सम्मेलन आफूले बहिष्कार गरेको स्पष्ट पारे । उनले भने, “पार्टीलाई पुरानै संगठन र ढर्रामा चलाउन खोजेकाले केन्द्रीय समितिमा बस्न इन्कार गरेको हो ।”
उनले पार्टीलाई नयाँ ढगबाट विकास गर्न एक वर्षभित्रै विशेष महाधिवेशन गरेर समय अनुसार रुपान्तरणका लागि अन्य क्रान्तिकारी शक्तिलाई एकतावद्ध बनाउनुपर्ने बताए । युद्धकालकै संरचनाबाट पार्टीलाई अघि बढाउन खोजे एमाओवादीको अस्तित्व संकटमा पर्ने उनको भनाइ छ ।
उनले नयाँ विचार, राजनीतिक कार्यदिशा र पार्टी संगठन सुदृढीकरण गरेर अघि नबढेसम्म समस्याको समाधान हुन नसक्ने जिकिर गरे । “विगतमा फरक विचारलाई निषेध गरिएकाले पार्टीले समस्या भागेको हो,” उनले भने ।
