समाचारमंगलबार, बैशाख ३०, २०७१
नयाँ संविधानबारे १ जेठदेखि छलफल शुरु
संविधानसभाको ३० बैशाखमा बसेको बैठकमा संविधान अभिलेख तथा निक्र्यौल समितिका सभापति विष्णुप्रसाद पौडेलले समितिका दुई छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेपछि संविधान निर्माणको नयाँ यात्रा सुरु भएको हो । संविधानसभाले आउँदो असोज मसान्तसम्म संविधान निर्माण पूरा गरी कात्तिक मसान्तभित्र जनताबाट राय सुझाव लिने र ८ माघभित्र संविधान जारी गरिसक्ने नयाँ कार्यतालिका बनाइसकेको छ ।
बैठकमा सभापति पौडेलले ‘तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१’ र ‘तत्कालीन राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा भएको असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१’ प्रस्तुत गरेका थिए ।
संविधानसभाका विभिन्न पाँच समितिमध्ये संविधान अभिलेख तथा निक्र्यौल समिति एक हो । यो समितिमा ७२ जना सदस्य छन् । समितिले रवीन्द्र अधिकारी संयोजक रहेको उपसमिति गठन गरी दुई विषयको प्रतिवेदन तयार गरेको थियो ।
दलहरूबीच समितिको बैठकमा सहमति र असहमति भएका विषय दुवैलाई संविधानसभाको बैठकमा प्रस्तुत गरी छलफल गर्दै जाने सहमति अनुसार ती प्रतिवेदन प्रस्तुत भएको सभापति पौडेलले बताए । प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्ष सुवास नेम्बाङ भने, “आजदेखि हामी संविधान निर्माणको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौँ ।”
संविधानसभाको अर्काे बैठक १ जेठमा बस्नेछ ।
रासस
