थप समाचारबिहीबार, जेठ १, २०७१
बर्दिया सीमा क्षेत्रमा ट्रयाक्टरले किचिएर एकको मृत्यु
बर्दियाको जमुनी गाविस–८ स्थित दशगजामा बरामद भएको बेबारिसे काठ वन कार्यालयमा ल्याउने क्रममा ट्रयाक्टरको ट्रली पल्टिएर एक जनाको मृत्यु भएको हो । सेक्टर वन कार्यालय, मैनापोखरबाट गएको भे १ च २५३० नम्बरको ट्रयाक्टरमा लोड गरेर काठ ल्याउने क्रममा १ जेठ बिहान ट्रयाक्टरको ट्रली पल्टिएको हो ।
काठले किचिएर मैनापोखर गाविस–७ का देवीराम थारुको घटनास्थलमै मृत्यु भएको मैनापोखर इलाका प्रहरी चौकीका हवल्दार रमेश थापाले जानकारी दिए । घटनामा घाइते मैनापोखर–१ का रामदिन थारु र कमल थारुको भने मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनीहरु दुवैको अवस्था गम्भीर रहेको कोहलपुर इलाका प्रहरी चौकीका डीएसपी माधव श्रेष्ठले जानकारी दिए ।
ट्रयाक्टरको ट्रली पल्टिएको अवस्थामा काठ नै लोड गरिएको अर्को ट्रयाक्टरले उनीहरुलाई किचेको बुझिएको छ । तीनै जना ट्रयाक्टरमा लोड गर्ने मजदुर हुन् ।
दशगजामा बेबारिसे अवस्थामा प्रहरीले बरामद गरेको १५५ क्यूफीट काठ सेक्टर वन कार्यालय, मैनापोखरले ल्याएको हो । सीमा क्षेत्रमा रहेको जंगलबाट ठूलो मात्रामा काठ तस्करी हुँदै आएको छ ।
तुफान न्यौपाने, बर्दिया
