समाचारबिहीबार, जेठ १, २०७१
वैद्यलाई मान्न तयार छुः दाहाल
एमाओवादी अध्यक्ष दाहालले वैद्यलाई अध्यक्ष दिएर पार्टी एकता गर्न तयार रहेको घोषणा गरेका हुन् । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले १ जेठमा राजधानीमा गरेको अन्तक्र्रियामा दाहालले भने, “मलाई जसले २०४२ सालमा नेतृत्वमा ल्याएको थियो, त्यसलाई अहिले म नेतृत्व मानेर सामान्य कार्यकर्ताको रुपमा काम गर्न तयार छु ।”
पार्टी एकता हुने अवस्था आए आफू नेतृत्व छाड्न तयार रहेको उनको भनाइ छ । संविधानको अन्तरवस्तुमा सहमति हुने राजनीतिक पार्टीहरुबीच पहिला ध्रुवीकरण हुन जरुरी भएको उल्लेख गर्दै उनले आफूहरुसँग अझै अन्तिम अवसर बाँकी रहेकाले पुनः एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए ।
उनले पार्टी विभाजित हुनुमा आफ्नो कमजोरी रहेको पनि बताए । “वर्गीय दृष्टिकोण र राष्ट्रिय चिन्तनमा गम्भीर त्रुटि भएकै हो, यसको जिम्मेवारी मैले लिएको छु, हामी सँगै लड्यौँ, केही कमजोरीले पार्टी विभाजित भयो, त्यो प्रक्रियाको प्रमुख जिम्मेवारी मेरै हो,” उनले भने ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले छरिएर रहेका माओवादी पार्टीहरुबीच कार्यगत एकता हुनुपर्नेमा जोड दिए । तत्काल पार्टी एकता संभव नभए कार्यगत एकता गरेर पनि अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
“एकता महान् प्रक्रिया हो, यसमा माओवादीमा दुईमत हुनुहँुदैन, साझा धारणा बनाएर कार्यगत एकताको आधार तयार गर्न सकिन्छ,” उनले भने, “ सिद्धान्त र रणनीतिमा कुरा मिल्ने पार्टीसँग एकतावद्ध हुनुको विकल्प छैन ।”
रासस

