समाचारशुक्रबार, जेठ २, २०७१
स्वास्थ्य विभागका पूर्व महानिर्देशकसहित ६ पक्राउ
अख्तियारले स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार गेल्जेन शेर्पासहित ६ जनालाई २ जेठमा पक्राउ गरेको हो । सुत्केरीको औषधी खरीद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरुलाई हिरासतमा लिएको हो ।
पक्राउ पर्नेमा पूर्व महानिर्देशक शेर्पा, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन प्रमुख (हाल राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण महाशाखाका प्रमुख) डा. नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालिन वरिष्ठ निर्देशक (हाल बालस्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक) कृष्णबहादुर चन्द, तत्काल आपूर्ति व्यवस्था महाशाखा खरीद इकाइमा कार्यरत (हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका जनस्वास्थ्य अधिकृत) पवनप्रसाद कोइराला, तत्काल आपूर्ति व्यवस्था महाशाखा (हाल स्वास्थ्य सेवा ईडीसीडी इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत) जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव र आपूर्ति व्यवस्था महाशाखाका जनस्वास्थ्य निरीक्षक हिमलाल ज्ञवाली छन् ।
उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान कारबाही अगाडि बढाएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार गर्भवती महिलालाई सुत्केरी हुने बेला अत्यधिक रक्तश्रावबाट हुने मातृमृत्युबाट जोगाउन निशुल्क वितरण गरिने मिसोप्रोस्टोल औषधी खरीद प्रक्रियामा उनीहरुले भ्रष्टाचार गरेका हुन् ।
परीक्षणबाट गुणस्तरहीन औषधी भएको ठहर हुँदा पनि उनीहरुले आपूर्तिकर्तालाई कारबाहीको सट्टा करोडौं मूल्यको औषधी स्टोरमा जम्मा गरेर राखेको अख्तियारले जनाएको छ ।
अख्तियारले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखा टेकुका प्रमुख डा. तारानाथ पोख्रेल समेतको संलग्नता रहेको दावी गरेको छ । उनीहरुलाई जिम्मेवार पदमा बहाद राख्दा प्रमाण नष्ट गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने भएकाले २ जेठदेखि नै लागू हुने गरी पदबाट निलम्बन गर्न अख्तियारले सरकारलाई भनेको छ ।

