समाचारसोमबार, जेठ ५, २०७१
राहदानी बिक्री गर्ने गिरोह पक्राउ
सीआईबीले नेपाली नागरिकको राहदानी अवैध रुपमा बंगदादेशी नागरिकलाई बिक्री गर्दै आएका गिरोह पक्राउ गरेको हो । राहदानी बिक्रीमा संलग्न दुई जनालाई विभिन्न मितिमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।
राहदानी बिक्रीमा संलग्न खोटाङ, दिक्तेल गाविस–२ घर भएका ललितपुर, इमाडोल गाविस–३ बस्ने कुमार पुरी र संखुवासभा, वाना गाविस–३ सखुवा घर भएका काठमाडौं–५ विशालनगर बस्ने पुर्णबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
सीआईबीले पुरीलाई १२ बैशाखमा र मगरलाई १७ बैशाखमा राजधानीबाटै पक्राउ गरेको जनाएको छ । उनीहरु दुवै जना वैदेशिक रोजगार व्यवसायी हुन् । पुरी एएल जरिफा मेनपावरका संचालक तथा मगर आरपी इन्टरनेशनल कन्सल्टेन्सीका संचालक हुन् ।
उनीहरुसहित राहदानी बिक्रीमा संलग्न देविप्रसाद काफ्ले विरुद्ध राहदानी ऐन अन्तर्गत मुद्दा अघि बढाएको सीआईबीले जनाएको छ । काफ्ले भने एनसीएफ इम्प्लोमेन्ट सर्भिसका संचालक हुन् ।
उनीहरुले वैदेशिक रोजगारका लागि जान लागेका कामदारको सक्कली राहदानीमा फोटो परिवर्तन गरी बंगलादेशी नागरिकलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीका प्रहरी उपरीक्षक सुरेशबिक्रम शाहले जानकारी दिए ।

