समाचारबुधबार, जेठ ७, २०७१
प्रस्तावित न्यायाधीशको सुनुवाइ ९ जेठमा
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा सिफारिश भएका ८ न्यायाधीशको सुनुवाइ ९ जेठमा गर्ने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच सहमति भएपछि सुनुवाइ समितिले सिफारिश भएका न्यायाधीशलाई बोलाउने भएको हो ।
मुख्य तीन दलका प्रमुख सचेतकले गरेको सहमति समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले ७ जेठमा बसेको बैठकमा पेश गरेका थिए । समितिले सिफारिश भएका न्यायाधीशको योग्यता, नियुक्तिको आधार र सिफारिश किन समावेशी भएन भनेर कारण पठाउन न्याय परिषदलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
समितिले न्यायाधीश विरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ । समितिले ७ जेठ अपरान्ह उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ ।
न्याय परिषदले सिफारिश गरेका ८ न्यायाधीशको विषयलाई लिएर यसअघि समितिमै विवाद चर्किएको थियो ।
सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले ९ बैशाखमा ८ न्यायाधीशको सिफारि गरेको हो । सिफारिश हुने न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेल छन् ।
