थप समाचारबिहीबार, जेठ ८, २०७१
बुद्ध अभियानको तयारी
दीपक ज्ञवाली, बुटवल
युद्धबाट केहीअघि मुक्ति पाएको नेपालबाट विश्वमा शान्तिको सन्देश फैलाउने रणनीति लुम्बिनी विकास कोषले बनाउँदैछ। बुद्धको जन्मस्थल लुम्बिनीलाई व्यवस्थित र विकसित गरेर ‘विश्व शान्तिका लागि लुम्बिनीबाट सन्देश’ नामको अभियान शुरू गर्ने योजना रहेको कोषका उपाध्यक्ष आचार्य कर्मा स्यांग्वो शेर्पा बताउँछन्। यो अभियानलाई प्रभावकारी बनाउन विभिन्न विद्वान्हरूसँग परामर्श थालिएको पनि उनको भनाइ छ।
बुद्धको आधिकारिक जीवनी लाखौं प्रति प्रकाशन गरेर संसारभरि पुर्याउने यो अभियानको लक्ष्य छ। त्यसो गर्दा विश्वभर शान्तिको सन्देश फैलने र बुद्धको जन्मस्थलबारे बहस गर्नु नपर्ने कोषको विश्वास छ। त्यो पुस्तकको सारांश रहने अर्को पुस्तक पनि प्रकाशन गर्ने र त्यसलाई जहाज र होटलहरूमा राखिने कोषको योजना छ।
शान्तिको सन्देश र लुम्बिनीको प्रचार गर्न आधुनिक सूचनाप्रविधिलाई प्रयोग गर्ने योजना बनाइएको र त्यसको प्रारम्भिक अभ्यास थालिएको कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिए। उनका अनुसार, बुद्धलाई चिनाउन राजदूतावासहरूसँग सहकार्य र समन्वय गरिने, विदेशी राजदूतहरूलाई लुम्बिनीमा आमन्त्रण गर्ने र नेपाली राजदूतावासहरूले पनि बुद्धको मूर्ति उपहार दिने नियम बसाइनेछ। उपाध्यक्ष शेर्पाका अनुसार बुद्धको आधिकारिक मूर्तिको स्वरुप स्वीकृत भइसकेको छ।
लुम्बिनीमै बुद्धबारे पर्याप्त जानकारी नगराएकोमा आलोचना खेप्ने गरेको कोषले सीमा नाका सुनौली, नवलपरासीको दाउन्ने र कपिलवस्तुको गोरुसिंगेमा प्रचार सामग्री राख्ने योजना बनाएको छ।
अहिलेसम्म बुद्ध र लुम्बिनीबारे जानकारी दिने होर्डिङ बोर्ड कतै राखिएको छैन। जसका कारण लुम्बिनी पुगेका पर्यटक पनि अन्योलमा रहन्छन्। पुरातत्वविद् बसन्त विडारी ठाउँ ठाउँमा गेट बनाएर लुम्बिनीबारे जानकारी र बुद्धका सन्देश राख्नुपर्ने बताउँछन्।
राम्रो प्रचार गर्ने हो भने लुम्बिनीलाई शान्तिको केन्द्र बनाउन सकिने भिक्षु मेत्तेय शाक्यपुत्रको विश्वास छ। भिक्षु आगरधम्म चाहिं अहिलेसम्म हार्डवेयरमा मात्र ध्यान दिएर सफ्टवेयरबारे नसोचेकोमा अब कहिल्यै ननाशिने बुद्ध विचारको सफ्टवेयरलाई विश्वभर पुर्याउनुपर्ने बताउँछन्।
स्थानीय उत्साहित
बुद्धको आधिकारिक जीवनीको विशेष पुस्तक प्रकाशनको योजना अहिलेसम्मकै प्रभावकारी काम हुने बौद्ध साहित्यमा कलम चलाउने साहित्यकार वनमाली निराकारको विश्वास छ। लुम्बिनी आउने पर्यटकहरूलाई बुद्धको सन्देश दिएर विदा गर्ने व्यवस्था मिलाउनुपर्ने उनको धारणा छ।
लुम्बिनी विकास कोषका पूर्व सदस्यसचिव विमलबहादुर शाक्य लुम्बिनीमा बुद्ध साहित्य उपलब्ध नहुँदा शान्ति सन्देश प्रवाह हुन नसकेको बताउँछन्। बुद्धको नाम राखेर सञ्चालन गरिएका रक्सी तथा मासु पसल, रेस्टुरेन्ट र म्यानपावरले पनि बुद्धबारे नकारात्मक सन्देश दिएको उनको भनाइ छ।
पुरातत्वविद् बसन्त विडारी शान्तिको मुहानमा शान्तिको अनुभूति गराउने क्रियाकलाप मात्र हुनुपर्ने बताउँछन्। त्यसका लागि लुम्बिनीका होटलहरूमा मासु, रक्सी राख्न रोक्नुपर्ने उनको धारणा छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक तिलक आचार्य चाहिं शान्तिको सन्देश फैलाउन बौद्ध शिक्षालाई व्यापक बनाउनुपर्ने आवश्यकता देख्छन्।
कोषले पनि बुद्धको जन्मभूमिमा बुद्धले वर्जित गरेका क्रियाकलाप रोक्ने योजना बनाएको छ।
उपाध्यक्ष शेर्पा लुम्बिनीको पाँच किलोमिटर क्षेत्रका होटलहरूमा मासु र मदिरा बेचविखनमा रोक लगाइने बताउँछन्। चुरोट, खैनीको बिक्रीमा पनि रोक लगाइने उनको भनाइ छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट

